बारामा थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि, थप जाँच गर्न छैन किट

बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। 

पण्डितका अनुसार उनको जेठ ७ गते यही परीक्षण गरिएको थियो। तर संक्रमितको सूचीमा उनी सर्लाहीको देखाएका थिए।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो। पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो। उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए। उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमध्ये दुई जना शनिबार डिस्चार्ज भएका थिए।

बारामा किट अभाव

बारामा किट अभाव हुँदा सम्भावित कोरोना संक्रमितको परीक्षणमा ढिलाइ भएको छ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको तर स्वाब संकलन गर्ने भाँडा (भीटीएम) र पीसीआर किटको अभाव हुँदा परीक्षणमा ढिलाइ भएको प्रजिअ पण्डितले बताए।

उनले प्रहरी कार्यालयका सिपाहीमा कोरोना संक्रमण देखिँदा पनि सुरक्षा निकायका प्रमुखहरुको परीक्षण गराउन नसकिएको बताएका छन्।

‘यो आज परीक्षण गरेपछि भविष्यमा कोरोना भाइरस नलाग्ने भ्यक्सिन पनि होइन। पोजेटिभ देखिएको बिरामीलाई पनि नेगेटिभ नआउन्जेल परीक्षण गरिरहनुपर्छ। तसर्थ पीडित मानव जीवन रक्षाको लागि आवश्यकता जहाँ छ त्यहाँ पुर्‍याउन सहयोग गर्नुहोस्,’ उनले लेखेका छन्।

जिल्लाको विभिन्न १६ स्थानमा बनाइएका ३३ वटा क्वारेन्टाइनमा अहिले पनि ६०४ जना मानिस बसिरहेका छन्। क्वारेन्टाइनमा बस्ने अधिकांश भारतबाट फर्किर आएकाहरु छन्। क्वारेन्टाइनमा दुई हप्ता भन्दा बढी समय बसिसकेका उनीहरुलाई परीक्षण नगरी घर पठाउँदा थप जोखिम बढ्न सक्ने अवस्था रहेको उनले बताए।
 

प्रकाशित मिति: : 2020-05-24 14:23:41

प्रतिकृया दिनुहोस्