जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंँको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् । गएराति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र जमाने सामत तथा भदौरेरामका विष्णु परियारका घरमा गारोसमेत भत्केर छाना उडेको छ ।
आरुपाटाका डोरे खत्री र चन्द्रे सुनारका गोठमा लगाइएको टिनको पाता पनि उडेको गौमुखी गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । उनकाअनुसार तीन घर र दुई गोठबाट छानामा लगाइएको टिनसहित करीब रु ६ लाख क्षति भएको छ ।
छानो उडाएकामध्ये परियार र शिवबहादुरको गत वर्ष खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत गौमुखी गाउँपालिकाको सहयोगमा निर्माण भएको थियो ।