बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट एकैसाथ कपिलवस्तुका १० जना संक्रमित निको भएर घर फर्किएका छन्।
दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए।
‘शुक्रबार र शनिबार दुईपटक पीसीआर टेस्ट गर्दा दश जनाको नेगेटिभ रिपोर्ट आएपछि शनिबार साँझ डिस्चार्ज गर्यौं’, उनले भने, ‘संक्रमितहरु उपचारपछि निको भएर घर फर्किंदा ज्यादै खुशी लागेको छ।’
निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनले बताए। थापाका अनुसार अहिले धागो कारखानाको कोरोना अस्पतालमा उपचार गराइरहेका बिरामीको संख्या ३४ छ। अस्पतालमा ८ जना नयाँ बिरामी थपिएका छन्।
यसअघि रुपन्देही कोटहीमाईका २४ वर्षया युवक पनि कोरोनालाई जितेर घर फर्केका थिए। शुक्रबार मात्रै बाँकेको खजुराको शुशिल कोइराला क्यान्सर अस्पतालबाट नेपालगन्जका २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए।