संविधान संशोधनबारे थप छलफल गरेर अघि बढ्न कांग्रेस र जसपाबीच सहमति

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच सरकारले गर्न लागेको संविधान संशोधनको बारेमा थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको बैठकमा संविधान संशोधनको बारेमा थप छलफल गरी अघि बढ्ने समझदारी भएको हो। 

जसपा नेपालका नेताहरु संविधान संशोधन लगायतका विषयमा छलफल गर्न आएपनि टुंगोमा नपुगेको देउवाको सचिवालयले जानकारी दिएको छ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ।

त्यसमा दुई तिहाई बहुमतका लागि कांग्रेसलगायत अन्य दलको पनि आवश्यकता पर्न सक्छ।  सोही संशोधनमा मधेसी लगायत अन्य समुदायले माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल भएको थियो।

त्यसमै अन्य विषय समावेश गरि एकैपटक संविधान संशोधन गर्नका लागि सरकारलाई दवाव दिन जसपाले कांग्रेसलाई आग्रह गरेको थियो।

जवाफमा कांग्रेसले यस विषयमा आआफ्नो बैठकमा छलफल गर्ने र पुनः बैठक बसेर थप निर्णय गर्ने दुई दलबीच सहमति भएको सभापति  देउवाका स्वकीय सचिव भानु देउवाले बताए।
 

प्रकाशित मिति: : 2020-05-23 15:23:39

प्रतिकृया दिनुहोस्