पाकिस्तानको विमान दुर्घटनामा परेका १०७ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन्। 

दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो।

विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको मेयर वासिम अख्तरले जानकारी दिएका छन्।

क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको मेयर अख्तरले  बताए।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन्।

दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए।

विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

विमान खसेका ठाउँमा बाक्लो बस्ती छ। मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो। विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो।

प्रकाशित मिति: : 2020-05-23 06:21:35

प्रतिकृया दिनुहोस्