गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडियाे

रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ।

नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि कोरोना विशेष अस्पतालसमेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो।

मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी भएको थियो। तर त्यहाँ पनि विवाद खडा भएपछि जङ्गल क्षेत्रमा लगेर शव गाडिएकाे हाे।

जेठ १ गते अस्पतालमा भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षका पुरुषको उपचारमा संलग्न डाक्टर, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जना सबैको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए। यसअघि अर्घाखाँचीको सन्धिखर्कको छाया पोलिक्लिनिकमा उनको उपचारमा संलग्न चिकित्सक र नर्ससहित १० जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो।

प्रकाशित मिति: : 2020-05-22 18:45:12

प्रतिकृया दिनुहोस्