सङ्क्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आएका थिए

चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ। दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरू यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए। भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा आज भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनीहरु दम्पती हुन्। उहाँहरुसँगै दिल्ली गएका जेठो छोरामा भने सङ्क्रमण देखिएको छैन।

उनीहरू भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गरेका थिए। एम्बुलेन्स परिवर्तन गरी उनीहरु यहाँ आइपुगेका थिए। उनीहरु घर आएदेखि नै सेल्फ क्वारेन्टिनमा बसेका थिए। सङ्क्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले आज कन्टयाक्ट ट्रेसिङ गरेको छ। सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए। उनका अनुसार सङ्क्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए। उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।

अहिले सङ्क्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ। सङ्क्रमित बिहीबार आफैं परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए। उनीहरुमा सङ्क्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ।

यस्तै नवलपरासी पूर्व विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुषको पनि भरतपुर कोरोना अस्पतालमै उपचार भइरहेको छ। अहिले सो अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ। दुई थपिएसँगै चितवनमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ। यसअघि सङ्क्रमण पुष्टि भएका राप्ती नगरपालिकाका दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् भने एक महिलाको काठमाडौँमै उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-05-22 15:53:46

प्रतिकृया दिनुहोस्