नेपाली राजनीतिक क्षेत्रमा अहिले दुई जना नेताको चर्चा छ– एक जना प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली । अर्का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ‘छायाँ सरकारका अर्थमन्त्री’ मिनेन्द्र रिजालको ।
दुवै नेताको चर्चाको विषय एउटै छ– ओली नेतृत्वको सरकारले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा ६८ वर्षदेखि भारतले मिच्दै आएको ३३५ वर्गकिलोमिटर नेपाली भूभागसमेत समेटेर नक्सा जारी गरेको विषय । प्रधानमन्त्री ओली त यो साहसिक निर्णयको नेतृत्व गरेका कारण स्वाभाविक रुपमा चर्चामा हुने नै भए । उनी यसका मुख्य कर्ता नै भए ।
ओलीले आफूलाई ‘बडे भाइ’ सम्झेर सधैँ ‘डोमिनेट’ गर्न खोज्ने भारतीय नेतृत्वसामु समान हैसियतको सार्वभौम मुलुक भनेर नेपाललाई प्रस्तुत गरेका छन् । उनले घोषणा गरेका छन्, ‘नक्सा जारी गरियो, अब भूमि पनि फिर्ता ल्याइने छ ।’
प्रधानमन्त्री ओलीले नेपालीभूमि भारतले मिचेको भन्नेबारे देशलाई एकताबद्ध गरे । अनि भारतले मिचेको नेपाली भूमिमाथि नेपालका तर्फबाट औपचारिक दाबी गरे । हाम्रो भूमिलाई समेत भारतीय नक्सामा हालेर दाबी गरेकोप्रति विरोध जनाए । अनि त्यो नक्सा सच्याउनुपर्ने अडान प्रस्तुत गरे ।
कांग्रेस नेता रिजालले चाहिँ नेपाली राजनीतिका बडे–बडे नेतालाई जिम्मेवारीको पाठ पढाएका छन् । उनकै दलका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री सशाङ्क कोइराला मात्र होइन, प्रधानमन्त्रीमा लगातार १७ पल्ट चुनाव लडेर पनि सफलता हासिल गर्न नसकेका रामचन्द्र पौडेललाई पनि शिक्षा दिएका छन् । देउवासँग संसदीय दलको नेतामा चुनाव लडेका, पार्टीका महामन्त्री र उपसभापति भइसकेका, प्रमुख सचेतकका रुपमा संसद्भित्रै उनीभन्दा अगाडिको कुर्सीमा बस्ने कांग्रेस नेताहरुलाई राजनीतिक संस्कार के हो भन्ने शिक्षा सिकाएका छन् । त्योभन्दा बढी त संसद्भित्र रहेका चार जना कम्युनिष्ट पार्टीका पूर्व प्रधानमन्त्रीलाई शिक्षा दिएका छन्– विदेशीसँगको ‘डिलिङ’ मा देश कसरी एकढिक्का हुनुपर्छ भनेर ।
रिजालले देखाएकाे परिपक्वता
संसद्भित्रै रिजालले भनेका थिए, ‘प्रधानमन्त्रीज्यू, भन्नुस् कांग्रेसले के सहयोग गर्नुपर्यो ?’ रिजालले यसो भनिरहँदा उनीअगाडि पहिलो लहरमा पाँच पटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति देउवा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा आसीन थिए । संसद्मा देउवाले पनि सरकारको निर्णयको समर्थन त गरे तर त्यसले समाजको ध्यान तान्न सकेको थिएन । उनकै पार्टीका केही ‘चतुर वक्ता’ले निर्णयको जश आफूहरुले लिन खोजेजस्तो देखिने गरी भने– हामीले संसदीय समितिबाट दिएको निर्देशन पालना गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद ! तर, ‘अथोरिटी’ सहित देउवाले बोल्नुपर्ने वाक्य त्यहाँ पनि रिजालले नै बोलेका थिए । देउवाले रोष्ट्रमबाट ‘प्रधानमन्त्रीज्यू, कांग्रेस साथमा छ । भन्नुस् के सहयोग गर्नुपर्यो ?’ भनेको भए त्यसले अर्कै वजन राख्थ्यो ।
नेता त्यो हो, जसले संकटमा नेतृत्व गर्नसक्छ । राष्ट्रियताको सवालमा देशले कोल्टे फेरेकोबेला नेतृत्वकला कांग्रेस नेता मिनेन्द्र रिजालले देखाएका छन् । उनले कांग्रेस पार्टीका नेता–कार्यकर्तालाई मात्र 'गाइड' गरेनन्, आम नेपालीलाई देशको पक्षमा कसरी अडिनुपर्छ भन्ने शिक्षा दिए । भारतीय मिडियाले नेपाली नक्सालाई ‘मेड इन चाइना’ भनेर प्रचार गरिरहेको थियो । यस्तै ‘प्रोपोडाण्डिस्ट’ एक जना भारतीय टेलिभिजनकर्मी अर्नव गोस्वामीले नेता रिजालको मुखबाट भारतलाई लाभ हुने केही शब्द अभिव्यक्त गराउने प्रयास गरेका थिए ।
रिजाललाई बोल्नै नदिई भारतीय एजेण्डामात्र बकिरहेका उनलाई कडाइका साथ सम्बोधन गरेर आफ्नो आत्मविश्वास र अडान प्रष्ट पारिछाडे । भारतीय नेतासँगको अन्तक्र्रियामा रहेका रिजालले भने, ‘नेपालले नयाँ नक्सा जरी गरेको विषय नेपालको हो, यसमा चीनको कुनै भूमिका छैन । नेपालको संसद्मा मात्र म प्रतिपक्षको कुर्सीमा बस्छु । देशको सीमाका विषयमा म प्रधानमन्त्री ओलीजीसँगै अडिग छु !’
अतिथिमाथि समेत ठूलो स्वरमा बोलेर ‘दादागिरी’ देखाउने भारतीय नेता र टेलिभिजनकर्मीको शैलीलाई त्योभन्दा ठूलो स्वरमा हस्तक्षेप गरेर रिजालले वाहवाही कमाएका छन् । यसले उनको नेतृत्व क्षमतालाई उजागर गरेको छ । यो पनि नेपाली राजनीतिक इतिहास लेख्नेले छुटाउनै नमिल्ने विषय बनेर रहेको छ । यसबाट सबैभन्दा बढी शिक्षा नेकपा सचिवालयभित्रका ‘कुण्ठाग्रस्त’ नेताहरुले सिक्नुपर्छ ।
पूर्वप्रधानमन्त्रीहरूले गुमाएको अवसर
नेपालका ३८सौँ प्रधानमन्त्री ओलीले उनीभन्दा अघिका ३७ जना प्रधानमन्त्रीले प्रस्तुत गर्न नसकेको साहस देखाएका छन् । उनीभन्दा अघि सुगाैली सन्धिपछि भीमसेन थापाबाहेक ३६ जना नेता ५६ पटक प्रधानमन्त्री बनिसकेका थिए। नेपालको इतिहासमा दुई जना नेताहरु गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापा पाँच–पाँच पटक प्रधानमन्त्री बनेका छन् । उनीहरु लामो समय सत्ताको नेतृत्व गर्नेमा पर्छन् । शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द पनि चार पटक प्रधानमन्त्री बने भने कीर्तिनिधि बिष्ट तीन पटक । डा. तुलसी गिरी, नगेन्द्रप्रसाद रिजाल र शन्तनेता कृष्णप्रसाद भट्टराई पनि दुई–दुई पटक सत्ताको नेतृत्व गर्ने अवसर पाउने गैरकम्युनिष्ट नेता हुन् ।
कम्युनिष्ट पार्टीकै मात्र हेर्दा पनि छ जना नेताहरु यसअघि नै सात पटक प्रधानमन्त्री बनिसकेका छन् । दोस्रो पटक प्रधानमन्त्रीका रुपमा सत्तारोहण गरेका ओली यसपालि कम्युनिष्ट पार्टीका तर्फबाट आठौँ पटक प्रधानमन्त्री बनेका हुन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि दुई चोटी प्रधानमन्त्री बनिसकेका छन् । निष्कलङ्क नेताको छवि बनाएका पहिलो कम्युनिष्ट प्रधानमन्त्री (स्वर्गीय) मनमोहन अधिकारीे नौमहिने अल्पमत सरकारको प्रधानमन्त्री बनेका थिए, जसले सामाजिक सुरक्षा र बजेटको विकेन्द्रीकरणको अमिट छाप छोडेर गएको थियो । वर्तमान नेकपाकै सचिवालयमा चार जना प्रधानमन्त्री भइसकेका नेता छन् । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि एक–एक पटक सत्ताको नेतृत्व गरिसकेका नेता हुन् । यसबाहेक हाल कम्युनिष्ट पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराई पनि कम्युनिष्ट पार्टीकै तर्फबाट प्रधानमन्त्री बनेका थिए ।
डा. भट्टराईजत्तिको आममान्छेले आशा राखेको लोकप्रियतासहित सिंहदरबार पस्ने प्रधानमन्त्री शायदै नेपालको पछिल्लो कालखण्डमा कोही थियो होला । तर, कसैको पालामा मिचिएको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने हिम्मत किन गरिएन ? के ओलीकाे कद बढाेस् भनेर जाेगाएर राखिदिएका हुन् याे मुद्दा ? कारण प्रष्ट छ– यसअघिका प्रधानमन्त्रीले आँट नगरेकै हुन् । कतिपय भारतसँग डराए, कतिले पद जाेगिने वा पाउने आशमा भारतभक्ति देखाए । यसमा कुनै शंका छैन ।
नेकपामा जश लिने होड
त्यसबाहेक नेकपा उपाध्यक्ष वामदेव गौतम पनि तीन पटक उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइसके । उनी पहिलो चोटी प्रधानमन्त्री चन्दको सरकारमा उपप्रधानमन्त्री हुँदा त ‘डि–फ्याक्टो प्रधानमन्त्री’ झै देखिने गरी सत्तामा हावी थिए । उनी महाकाली सीमाको विषय सबैभन्दा लामो समयसम्म चर्को स्वरमा आवाज उठाइरहने नेता पनि हुन् तर उनी हावी देखिएको सरकारबाट समेत यो काम गराउन सकेनन् । बरु अहिले सार्वजनिक रुपमा भनिरहेका छन्– ‘यो नक्सा मैले प्रस्ताव गरेर जारी गराएको हुँ । कसै (ओली)को देवत्वकरण गर्नु जरुरी छैन ।’
मन्त्रिपरिषद्ले मिचिएको भूमिसहितको नेपालको नक्सा त्यसबेला जारी गरेको छ, जतिबेला ‘दक्षिणी शक्तिकेन्द्र’ र नेकपा सचिवालय प्रधानमन्त्री फेर्ने ‘असफल’ प्रयत्न गरिरहेको छ । नक्सा सार्वजनिक गर्ने निर्णयपछि प्रधानमन्त्री ओलीको उचाइ फेरि चुलिएको छ । उनलाई विदा गर्न तम्सेका नेकपाभित्रका तीन पूर्व पार्टीप्रमुखहरुको कद उनका सामु ‘लिलिपुट’ सावित भएको छ । यसबाट मर्माहत छन् भन्ने सार्वजनिक अभिव्यक्तिले पनि पुष्टि गरिसकेको छ ।
सरकारले निर्णय गरेलगत्तै नेकपाभित्रको ‘प्रतिपक्षी खेमा’ का एक जना युवा नेतासँगको अनौपचारिक संवादमा मैले सोधेको थिएँ, ‘भोलिदेखि प्रधानमन्त्रीविरुद्ध के भन्लान् अब, ओलीलाई हटाउन खेलिरहेका नेकपाका शीर्षनेताहरुले ?’
उनले हाँस्दै जवाफ दिएका थिए, ‘अब यो प्रधानमन्त्रीले केही गरेको होइन, हामीले अझ मैले गर्दा भएको हो भनेर जश लिने होड सुरु हुन्छ, हेर्दै जानुस् ।’ दशकौँदेखि सँगै राजनीति गर्दै आएका ती नेताले आफ्ना ‘वरिष्ठ’लाई नचिन्ने कुरै भएन ।
नभन्दै भोलिपल्टदेखि नै त्यस्तै प्रतिक्रिया आयो– ‘प्रधानमन्त्री ओलीको यसमा कुनै भूमिका छैन, उनले केही गरेको होइन, हाम्रो अझ मेरो प्रयासमा आएको हो ।’
ओलीका विकल्पका रुपमा आफूलाई अनुमान गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त सार्वजनिक रुपमा केही बोलेनन् तर अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतमले यसमा बोले ।
समकालीन राजनीतिज्ञमध्ये निश्चय पनि कालापानीको विषय सबैभन्दा जोडदार रुपमा उठाउने र एमाले फुटाउनेसम्म आँट गरेका नेता हुन्– नेकपा उपाध्यक्ष वामदेव गौतम । उनले दाबी नगरे पनि सबैले भन्ने नै थिए– यसका हिरो प्रधानमन्त्री केपी ओली भए पनि ‘साइड हिरो’ गौतम नै हुन् । तर, उनले प्रधानमन्त्रीको कुनै भूमिका छैन भन्ने ढंगको अभिव्यक्ति दिए ।
मन्त्रिपरिषद्बाट नक्सा पारित हुनेबित्तिकै गौतमले सामाजिक सञ्जालमा यो आफ्नो प्रस्तावमा सचिवालयले निर्णय गरेको दाबीसहित फेसबुक स्ट्याटस लेखे । गौतमले ओलीप्रति लक्ष्यित गर्दै लेखे, ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर नेपाल सरकारबाट पनि त्यही अनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।’ उनले सरकारले निर्णय होइन, अनुमोदन गरेको दाबी गरे ।
नेकपा सचिवालयका सदस्य रहेका पूर्व एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रतिक्रिया त झन् गज्जबको छ । उनले पनि आफ्नो कारण आएको बताए । ‘हामीले कुनै पनि हालतमा यसपटकको नीति–कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने घोषणा गर्नुपर्छ भनेर हामीले कुरा राखेपछि राखेपछि प्रधानमन्त्रीले त्यहीँबाट फोन गरेर नीति कार्यक्रम बनिरहेको ठाउँमा सच्याउने कुरा गर्नुभो । नक्सामा पनि अंकित गरेर यसपटक ल्याउन सकियो । यो एउटा ऐतिहासिक कुरा हो हेर्नुस् ।’
‘नेपालको इतिहासमा लामो समयसम्म आफ्नो भूभाग जसरी आफैंले समेट्न सकिरहेका थिएनौँ हिजोका शासकहरुले त्यो काम गर्न सकिरहेका थिएनन्’, खनालको प्रस्तुति त झन् रोचक थियो, ‘पहिलोपटक हामीले यो कुरालाई समेट्न सकेका छौँ । अब कसरी त्यसलाई साँच्चिकै हाम्रो भूभागमा ल्याउने भन्ने चुनौतीको सुरुवात नयाँ ढंगले भएको छ ।’ खनालले भनेको ‘हिजोका शासक’ को हुन् ? उनी स्वयम् प्रधानमन्त्री भइसकेका छन् । ओलीलाई अहिले उनैले गराएको हो भने आफू प्रधानमन्त्री हुँदा १० वर्षअघि नै किन गरेनन् ?
प्रधानमन्त्री भइसकेको वा हुने ल्याकतको हुँ भन्ने नेताले यत्ति चाहिँ ख्याल गर्नु जरुरी छ– नेपाली राष्ट्रियता केबल सत्ता चढ्ने भर्याङ हैन, यो नेपालीको स्पन्दनसँग जोडिएको विषय हो । कसले गर्यो होइन, के गर्यो भन्नेले अर्थ राख्छ । कसले गर्यो भन्ने चाहिँ कसैले दाबी गर्नै पर्दैन, २१सौँ शताब्दीको नेपाली समाज प्रबुद्ध भइसकेको छ । पदको लालच नराख्ने नेपाली जनताले आफैँले सबैको ‘पब्लिक अडिट’ गरिरहेका हुन्छन् । जसरी लेख्ने मान्छेले बुझ्नुपर्छ– पाठक मभन्दा धेरै गुणा जान्ने छने । त्यस्तै नेताले बुझ्नु जरुरी छ– आममान्छे नेताहरुभन्दा सचेत र सुशिक्षित छन्, त्यसैले समाजमा आम रुपमै नेताप्रतिको सम्मानमा कमी आएको हो ।
नेपाली नक्सा जारी गरेको विषयमा अहिले नेपालमा दुई जना नेताको कद साँच्चै बढेको छ– एकजना प्रधानमन्त्री ओली र अर्का प्रतिपक्षी दलका एक जना नेता मिनेन्द्र रिजाल । नेता त्यही हो– जसले समाजलाई दिशानिर्देश गर्न सक्छ । त्यसैले प्रधानमन्त्रीसँग दाँजिन खोज्ने नेकपाका नेताहरुसहित कांग्रेसका शीर्षनेताहरु सबैले डा. मिनेन्द्र रिजालबाट सिक्नुपर्छ– देशप्रतिको जिम्मेवारी पार्टी र स्वार्थभन्दा कति माथि हुन्छ भनेर । अहिलेको विषयमा भारतसँगको ‘डिल’ कसैले चाहे पनि वा नचाहे पनि प्रधानमन्त्री केपी ओलीले नै गर्ने हो । अरु सबैकाे विद्वता ओलीलाई सघाए मात्र काम लाग्छ । त्यसैले आम नेपाली र नेपालको हित चिताउनेले सबैले प्रधानमन्त्री ओलीलाई नै साथ–सहयोग दिनुपनेृ बेला हाे । कुनै तुष पाल्ने बेला हैन याे। भारतसँगकाे याे पाैँठेजाेरीमा ओलीले जितेमा देशले जित्ने छ । देशले जित्यो भने मात्र सबैको स्वतः जीत हुनेछ ।
यो पनि हेर्नुहोस्
नक्सा सार्वजनिक ‘युगकै स्मरणीय क्षण’: भूमिसुधारमन्त्री अर्यालको ऐतिहासिक सम्बोधन (पूर्णपाठ)