विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएका छन्। अमेरिकासहितका देशले लकडाउन खुकुलो बनाउन लागेका बेला डा.टेडरोजको चेतावनी आएको हो।
बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको बताए।
उनले विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको बताए। उनका अनुसार २४ घण्टामा विश्वका एक लाख ६ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ।
‘पछिल्लो २४ घण्टामा डब्लुएचओलाई रिपोर्ट भएका केसको संख्या एक लाख ६ हजार भएको, यो एकै दिन थपिएका संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ डा. टेडरोजले भने।
उनले भने झण्डै दुई तिहाई केसहरु मात्रै चार देशका भएको पनि बताए।
डा. टेडरोजका अनुसार कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १५ लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ। यस्तै त्यहाँ ९३ हजार चार सय भन्दा बढीको ज्यान गएको छ।
रुसमा संक्रमितको संख्या तीन लाख ८ हजार तथा ब्राजिलमा दुई लाख ९१ हजार भन्दा बढी पुगेको छ। बेलायतमा ३५ हजार ७८६, इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३५ तथा स्पेनमा २७ हजार ८८८ जनाको ज्यान गएको छ।
विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन्। धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ।
कोरोना भाइरसका कारण हालसम्म विश्वभर तीन लाख २७ हजार भन्दा बढीको मृत्यु भएको छ।
क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग नगर्नु
डब्लुएचओको आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरस विरुद्धको उपचारमा मलेरियाको औषधि क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगलाई लिएर पनि चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन लिएको भन्दै त्यसको प्रयोगमा प्रोत्साहन प्रदान गरेका थिए। तर डा. रायनले भने औषधिको प्रभावकारिता प्रमाणित नभएकाले प्रयोग नगर्न भनेका छन्।
यता दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले पनि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन्।
हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसको उपचार गर्ने प्रमाण नभेटिएको र यसबाट मुटुमा समस्या हुनु सक्ने वैज्ञानिकहरुले बताएका छन्। तर बोल्सोनारोले त्यसलाई बेवास्ता गरेर औषधिलाई स्वीकृति दिएका हुन्।
उनले त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले सो औषधि खाएको र त्यसले कुनै पनि नराम्रो नगरेको कुरा उदाहारणको रुपमा प्रस्तुत गरेका छन्।
तर वैज्ञानिकले प्रमाणित नगरेको तथा स्वास्थ्य विज्ञले चेतावनी दिएको औषधि हाइड्रोक्सिक्लोरोक्वीन भने कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै आएका छन्।