अमेरिकामा धेरै संक्रमित देखिनु सम्मानस्वरुप दिइएको पदकका रुपमा लिन्छु: ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित देखिनु ‘सम्मानकाे पदक’मा रूपमा लिने बताएका छन्। 

ट्रम्पले ह्वाइट हाउसमा भने, जब तपाईहरुले धेरैमा संक्रमण भएको भन्नुहुन्छ, मैले त्यो रुपमा हेर्दिन, म यसलाई सम्मानस्वरुप दिइएको पदकका रुपमा लिन्छु। वास्तवमै यो सम्मानको पदक हो, यसको अर्थ हाम्रो परीक्षण अति राम्रो छ।’ 

अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख २७ हजारभन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ। त्यहाँ मृत्यु हुनेको संख्या ९१ हजार ८ सयभन्दा बढी छ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमितको संख्या रुसमा देखिएको छ। त्यहाँ तीनलाख मानिसमा संक्रमण पुष्टि भएको छ भने २८ सयभन्दा बढीको मृत्यु भएको छ।

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक बोलाएका उनले आफूहरुको परीक्षण धेरै रहेको पनि बताए। 

‘अमेरिकामा मंगलबारसम्म एक करोड २६ लाख मानिसमा कोरोना भाइरसको परीक्षण भएको छ। जब तपाईहरुले संक्रमितको संख्या विश्वमै सबैभन्दा धेरै छ भन्नु हुन्छ, त्यो यसकारण भएको हो कि हामीले अरु सबैले भन्दा धेरै परीक्षण गरेका छौँ,’उनले  पत्रकारहरुसँग कुरा गर्दै भने।

कुल संख्याका हिसाबमा अमेरिकामा विश्वमै सबैभन्दा धेरै व्यक्तिको परीक्षण भएको छ। तर, कुल जनसंख्या परीक्षणको दरमा भने अमेरिका निकै कम रहेको छ।

प्रति हजार व्यक्तिमा गरिएको परीक्षणमा अमेरिका १६औँ स्थानमा छ। दक्षिण कोरियाभन्दा अघि रहे पनि आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस र क्यानडाभन्दा अमेरिका अझै पछि छ।

प्रकाशित मिति: : 2020-05-20 07:01:45

प्रतिकृया दिनुहोस्