मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको लमजुङका व्यक्ति तीन वर्षीय बालक रहेको खुलेको छ। लमजुङमा पहिलो पटक काेराेना संक्रमित फेला परेकाे हाे।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार उनी काठमाडौं महानगरपालिका १६ वनस्थली बस्ने गर्छन्। स्वास्थ्य मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलनमा लमजुङका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो।
मन्त्रालयका अनुसार हालसम्म नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किएका छन्। यस्तै २ जनाको मृत्यु भएको छ।