नेपालमा कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि अब पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा सशुल्क परीक्ष गर्न पाउने जानकारी दिएका हुन्।
‘विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने व्यवस्था गरेका छौं,’ उनले भने।
यसअघि सरकारले लक्षण देखिएका, संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका मानिसलाई मात्रै कोरोना परीक्षण गर्न पाउने निर्देशिका जारी गरेको थियो।
नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किएका छन्। यस्तै २ जनाको मृत्यु भएको छ।