मोडेर्ना कम्पनीले बनायाे कोरोना भाइरस निस्तेज पार्ने खोप, सकारात्मक सन्देश

बिएल संवाददाता

काठमाडाै‌ं

मोडेर्ना कम्पनीले निर्माण गरेको एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोना भाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।

अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्। एमआरएनए–१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो।

मोडेर्ना कम्पनीले सुरक्षा परीक्षणमा भाग लिएका ८ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको बताएको छ। शरीरको त्यो प्रतिक्रिया कोरोना भाइरस संक्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।

अमेरिकी सरकारको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चालन गरेको सो परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसलाई निष्क्रिय बनाउने एन्टीबडी बनाउने देखिएको छ।

अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोना भाइरस संक्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ। 

सो खोप कोरोना भाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ। त्यो अंशले व्यक्तिमा संक्रमण गर्न वा लक्षण देखाउन सक्दैन तर शरीरको रोग प्रतिरोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ।

तर ४५ जनामा गरिएको परीक्षणमा आठ जनाको मात्रै एन्टीबडी बने नबनेको परीक्षण गरिएको थियो। बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी नै छ।  सो परीक्षणमा सहभागीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइएको थियो। उनीहरूमा केही ’साइड इफेक्टहरू’ देखिएको बताइएको छ। तर मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्तिहरूमा कोभिड १९ निको भएका व्यक्तिहरूमा देखिएको जत्तिकै एन्टीबडी देखिएको हो।

प्रकाशित मिति: : 2020-05-19 14:29:00

प्रतिकृया दिनुहोस्