सोमबार कोरोना संक्रमण पुष्टि भएका बाँकेको नरैनापुर गाउँपालिकाका ४७ जना संक्रमित भारतका दिल्ली र मुम्बईबाट आएका पाइएको छ। उनीहरु सबै भारतका विभिन्न क्षेत्रमा काम गर्ने मजदुर हुन्।
उनीहरु केही समय अघि कोही हिँडेर त कोही गाडीमा लामो समय यात्रा गरेर नरैनापुरका आएको पाइएको हो। कोरोना भाइरसको ‘हटस्पट’ बनेको नरैनापुरका गाउँपालिकाले उनीहरु केही समय दशगजा क्षेत्रमा समेत बसेको जनाएको छ।
गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यका अनुसार विभिन्न समयमा गरि नागरिकलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।
अहिले नरैनापुरका क्वारेन्टाइनमा ७ सय ५९ जना छन्। आइतबार मात्रै नरैनापुरमा एक २५ वर्षीय युवकको क्वारेन्टाइनमा रहेका बेला लगातार वान्ता भएपछि मृत्यु भएको थियो।
उनको मृत्यु पछि मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनलाई साँझ राप्ती नदिमा गाडेर अन्तिम संकार गरिएको थियो। सोमबार संक्रमण देखिएका व्यक्तिहरु शनिबार स्वाब संकलन गरेर लगिएका २ सय ६३ जना मध्येका हुन्।
जसमध्ये १९२ को परीक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ।
भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए। बाँकी ८१ जनाको स्वाब परीक्षण हुनेक्रममा रहेको छ।
यस अघि नरैनापुरका ८ जना कोरोना पुष्टि भएको थियो। ती संक्रमितहरुलाई शुक्रवार दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको थियो।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा ठूलो संख्यामा संक्रमित भेटिएपछि नरैनापुरलाई हटस्पट क्षेत्र घोषणा गर्नुको विकल्प नरहेको जानकारी दिए। यहाँका चारवटै नाका बन्द गर्नुका साथै नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ।
उनीहरुको थप विवरण भने खुल्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ।