कांग्रेसको प्रश्न : कोरोनाबाट मृत्यु भएका युवकलाई किन बेलैमा अस्पताल लगिएन ?

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारसँग प्रश्न गरेको छ।

सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी किन राखिएको भनी प्रश्न गरेका हुन्।

‘क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राती एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन?’ कांग्रेसले प्रश्न गरेको छ।

एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोबिज्ञानको भूमिका भएको भन्दै अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई  सजग र सतर्क अवस्थामा सरकारले राख्न नसको उनलेआरोप लगाए। 

‘आइतबार बिहान ७ बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको बिद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो?,’ शर्माले प्रश्न गरे,‘अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन्?’

शव उठाउन युवकको परीक्षण रिपोर्ट प्रतिक्षा गरिएको भए चाँडै रिपोर्ट तयार पार्न पहल गर्नुपर्ने कांग्रेसले बताएको छ। 

‘श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहि चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने?,’उनले भनेका छन्।

यस्तै उनले नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति हुनु सरकारको गम्भीर लापरबाही भएको  बताएका छन्।

‘नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति देखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेको बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ?,’उनले प्रश्न गरे।

प्रकाशित मिति: : 2020-05-18 16:03:03

प्रतिकृया दिनुहोस्