एमसीसी परियोजना सरकारले पछाडिको ढोकाबाट घुसाउन खाेज्याे: भीम रावल

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेकपाका नेता भीम रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौताका परियोजना सरकारले पछाडिको ढोकाबाट  घुसाउन खोजेको आराेप लगाएका छन्।

सरकारकाे नीति तथा कार्यक्रममा विद्युत ट्रान्समिसन लाइनका योजना राखिएका छन्। त्यसलाई सांसद रावलले एमसीसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो लागेको भन्दै शंका गरेका हुन्।

 प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले  एमसीसी सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आवाज विपरीत हुने बताएका छन्।

रावलले भने, 'एमसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको छ। त्यो भयो भने नेपाली जनताले उठाउँदै आएको आवाज विपरीत हुने छ। राष्ट्रहित विपरीत हुनेछ। स्वाधीनता र स्वतन्त्र देशको हैसियतमा पैसामा साट्न सकिँदैन,' उनले भने।

नीति तथा कार्यक्रमले कोरोनाले पार्ने प्रभावलाई मध्यनजर गरेर शिक्षा तथा स्वास्थ्य क्षेत्रका लागि ल्याएका परियोजना सही भएको रावलले बताए। विदेशबाट फर्किने नेपाली नागरिकका लागि रोजगारीका कार्यक्रम ल्याउनुपर्ने उनले सुझाव दिएका छन्।

सांसद रावलले भारतले नेपाली भूमिमा सडक निर्माण गरेकोमा उनले आपत्ति जनाएका छन्। सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नक्सा सार्वजनिक गर्ने कुराको रावलले समर्थन गरेका छन्। उनले भूमि फिर्तका लागि पहल गर्न पनि सरकारलाई सुझाव दिएका छन्।

प्रकाशित मिति: : 2020-05-18 12:01:37

प्रतिकृया दिनुहोस्