विराटगरका दुई क्षेत्र सिल, एक काेराेना संक्रमित सरसफाई कर्मचारी भएकाे खुलासा

प्रदेश १ को राजधानी विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु बस्दै आएको क्षेत्रलाई सिल गरिएको छ। 

संक्रमित पुष्टि भएकाहरुको बसोबास गरिरहेका महानगरको वडा ६ र १५  सिल गरिएकाे हाे। वडा नम्बर १५ जोगबनी सीमाभन्दा वर हटताली हाट क्षेत्र हो। ६ नम्बर वडा सरौंचिया क्षेत्र पर्छ।

ती वडाका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा आइतबार साँझ संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पुरुष सफाइ कर्मचारीका रुपमा कार्यरत थिए। यता विराटनगर ६ कि महिला एकसाता अघि भारतबाट आएकी हुन्।  कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा राखेर उपचार र हेरचाह गरिने भएको छ।

सिल गरिएको क्षेत्र आसपास सुरक्षाकर्मी परिचालन गरी निगरानी गरिएको छ। सोमबार त्यस क्षेत्रका बासिन्दाको परीक्षण गरिने भएको छ।

महानगरपालिकाले केही दिनअघि ती क्षेत्रका सहित ४३ जनाको आरडीटी परीक्षण गराएको थियो। परीक्षणका क्रममा दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि दोहोर्‍याएर आरडीटी परीक्षण नै गरिएको थियाे। त्यसपछिको रिपोर्टमा पनि शंकास्पद आएपछि उनीहरुको स्वाब नमुना परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। त्यहाँको ल्याबमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
 

प्रकाशित मिति: : 2020-05-18 06:54:25

प्रतिकृया दिनुहोस्