दिलिप हत्या प्रकरण नसेलाउँदै उत्खनन्‌को विषयमा फेरि दिनहुँ विवाद

लामो लकडाउनबिच सरकारले विकास निर्माण प्रभावित हुने भन्दै ४४ वटा उद्योगसँगै क्रसर उद्योग पनि सञ्चालन गर्ने अनुमति दियो।

क्रसर उद्योग खोल्न सरकारले दिएको अनुमतिसँगै धनुषाको ढल्केबर क्षेत्रभित्र पर्ने खोलामा फेरि उत्खनन् सुरू गरिएपछि विवाद उत्पन्न भएको छ।

ढल्केवर क्षेत्रमा पर्ने औरही खोलाको उत्खननको विषयमा विवाद हुँदा गएको पुस २५ गते दिलिप महतोको हत्या भएको थियो।

मिथिला नगरपालिका वडा नं.५ श्रीपुर र वडा नं. ३ हरिहरपुरको सीमा क्षेत्रमा पर्ने औरही, पुष्पलपुर छेउको जलाद, ढल्केवर बजार नजिकको बसही, वडहरी बजार छेउको बडहरी र लालगढ छेउको रातु खोलामा उत्खनन् सुरु गरिएपछि स्थानीय र उत्खनन्को ठेक्का लिएका ठेकेदार समूहबिच विवाद चुलिएको हो।

अवैध उत्खनन भइरहेको भन्दै स्थानीयले अवरोध गर्ने गरेका छन्। गएको मंगलबार हरिहरपुर र श्रीपुरका स्थानीयले औरही खोलामा खन्न प्रयोग गरिएको २ वटा स्काइभेटर नियन्त्रणमा लिएर ग्राभेल उत्खनन्‌मा रोक लगाएका थिए।

खोला क्षेत्रबाट नभई खोलाले पुरेको नम्बरी जग्गाबाट उत्खनन गरेकाले अबरोध गरेको स्थानीयको भनाई थियो। औरही खोलाको क्षेत्र ३० फिट चौडाई मात्र रहेको र खोलाको दुबै पट्टी बाँकी जमिन नम्बरी भएको दाबी स्थानीयको छ।

ठेकेदार पक्षका राजु गुप्ताले कुनै पनि प्रकारको अवैध उत्खनन् नगरेको भन्दै मिथिला नगरपालिकाबाट प्रकृयागत ढङ्गबाट ठेक्काको शर्त बमोजिम नै ग्राभेल उठाउने गरेको दाबी गरे।

पछिल्लो उत्खनन्‌को भित्री कथा

मिथिला नगरपालिकाबाट नदिजन्य पदार्थ उत्खनन्‌को चालु आर्थिक वर्षमा भ्याटबाहेक ४ करोड ५१ लाख ५१ हजार १ रूपैयाँमा ठेक्का लिएको जय बजरंग वालुवा प्रशोधन उद्योग, मिथिला न.पा. १०, लालगढले दिलिप हत्या प्रकरण र कोरोना लक्षित लकडाउनले उत्खनन् प्रभावित हुँदा घाटामा गएको भन्दै जिल्ला समन्वय समिति धनुषासँग असार मसान्तसम्म ठेक्काको म्याद थप गरि उत्खनन्‌ अनुमति माग्यो।

यस विषयमा निर्णय गर्न वैशाख २३ गते समन्वय समितिका संयोजक रामदेव बनरैत यादवको अध्यक्षतामा बैठक बस्यो।

उक्त बैठकमा उपस्थित थिए जिल्ला समन्वय समितिका उपप्रमुख दिपक कुमार झा, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, एसपी रमेश कुमार बस्नेत, शसस्त्र प्रहरीका एसपी राजेश उप्रेती, राष्ट्रिय अनुसन्धानका धनुषा जिल्ला उपप्रमुख विमल डंगोल, डिभिजन वन कार्यालयका अशोक कुमार झा, जिल्ला समन्वय समितिका सदस्य सचिव कन्हैया कुमार मिश्र र राजिव कुमार कर्णलगायत।

लामै समयसम्म चलेको बैठकमा आमन्त्रित सदस्यका रुपमा उपस्थित थिए गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबावु यादव, क्षिरेश्वर नगरपालिकाका मेयर योगेन्द्र पजियार र धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल लगायत।

बैठकले धनुषा जिल्ला भित्र सञ्चालन भईरहेका विकास निर्माण कार्यमा अनुमति प्राप्त सवारी साधन प्रयोग गरि सम्बन्धित गाउँपालिका र नगरपालिकाले नदीजन्य तथा खानीजन्य पदार्थको निर्धारित मापदण्ड भित्र रही निकाल्ने ब्यवस्था मिलाउने भनि निर्णय गर्‍यो। त्यस्तै बैठकले अर्को निर्णय के पनि गर्‍यो भने विभिन्न अवरोध र कोभिड १९ को प्रभावका कारण अनुमतिप्राप्त ब्यवसायीले उत्खनन् गर्न नपाएकाले असार मसान्त भरि खोला र नदीको उत्खनन गर्न पाउने गरि म्याद थपको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरि पठाउने।

लकडाउन सुरू भए सँगै मिथिला नगरपालिकाले पनि उत्खनन् ठेक्का लिएको जय बजरंग बालुवा प्रशोधन उद्योगलाई उत्खननको अनुमति दिएको पत्र प्राप्त भएको छ। गएको चैत २० गते दिईएको अनुमति पत्रमा भनिएको छ, ‘जिल्ला समन्वय समिति धनुषाको पत्र संख्या ०७६।०७७ को चलानी नं.३०७ को मिति ०७६।११।१९ मा प्राप्त पत्र बमोजिम स्काभेटर प्रयोग गरि नदि उत्खनन् गर्न अनुमति दिईएको छ।

बर्बाद भएँ: बेचन शर्मा

तर स्थानीय तहको अनुमति लिएर उत्खनन् सुरु गरेको बजरगं बालुवा प्रशोधन उद्योगसँग समन्वय समितिले निर्णय गरेबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुमति दिएको पत्र भने छैन।

बजरंग बालुवा प्रशोधन उद्योगका बेचन शर्मा भन्छन् , ‘दिलिप हत्या प्रकरण र कोरोनाले मलाई बर्बाद बनायो, ठूलो घाटामा गएँ।’ घाटामा गएको रकम भने शर्माले उल्लेख गरेनन्। शर्मा देशकै ठूलो क्रशर उद्यमी मध्येका एक हुन्। शर्माका देशभरीमा ७ वटा क्रशर उद्योग सञ्चालनमा छन्।

उत्खनन् सुरु हुनसाथ लकडाउनका कारण फुर्सदिला बनेका युवा मात्रै होईन बुढापाका पनि समूह बनाएर उत्खनन्को विरोध गर्ने अनि रकम बार्गेनिङ गर्ने र केही रकम पाएपछि विरोध गर्न छाड्ने प्रवृत्ति मौलाएर गएको पाईन्छ। ‘पैसा बाँड्दा बाँड्दा हैरान भईसकियो’, ठेकेदार मध्येका एक भन्छन्, ‘पैसा नदिउँ विभिन्न वहान बनाएर अवरोध गर्छन्, पैसा दिउँ, कतिलाई दिने? हैरान भईसकियो।’

लकडाउनले दिलिप हत्या प्रकरण प्रभावित

लकडाउनले दिलिप महतो हत्या प्रकरणको मुद्दा प्रभावित बनेको छ। गत पुस २५ गते वालुवा उत्खनन्को विरोध गर्दा दिलिपको टिपरले किच्याएर हत्या गरिएको प्रहरी निष्कर्ष छ।

हत्यामा संलग्न भएको आरोपमा ६ जना विरूद्ध प्रहरीले मुद्दा चलाएको छ । लकडाउनले अड्डा अदालत समेत बन्द भएपछि दिलिप हत्या प्रकरणको केस पनि प्रभावित बनेको हो ।

मुद्दा चलाइएका महोत्तरी बर्दिवास नगरपालिका ९ का झोकले टोलका मुनिन्द्र महतो, बर्दिवास २ का जितेन्द्र कुमार महतो, धनुषा मिथिला नगरपालिका ५ श्रीपुरका विपिन महतो, रोशन कुमार यादव, धनुषाको चारनाथ नगरपालिका २ लखनपुरका जितेन्द्र महतो र सर्लाहीको लालवन्दि नगरपालिका १७ रानिगञ्जका शत्रुधन महतो पक्राउ परेकोमा जनही २५ हजार रुपैयाँमा तीन जना तारेखमा छुटिसकेका छन् भने जितेन्द्र , मुनिन्दर र विपिन जिल्ला कारागार धनुषामा थुनामा छन्।

दिलिप हत्या प्रकरण सेलाउन नपाउँदै यही ठाउँमा उत्खननको विषयमा फेरि दैनिकजसो विवाद उत्पन्न हुँदा निम्तिन सक्ने सम्भावित दुर्घट्नाप्रति सबै सजग हुन जरूरी छ। स्थानीय तह र प्रहरी प्रशासन मात्रै नभएर स्थानीय युवा पनि यस विषयमा सचेत बन्न आबश्यक देखिन्छ।

प्रकाशित मिति: : 2020-05-17 13:33:40

प्रतिकृया दिनुहोस्