काेराेना संक्रमित महिलाकाे मृत्यु: शिशुसहित ४ जना आइसोलेसनमा, रिपाेर्ट भाेलि आउने

बिएल संवाददाता

काठमाडाै‌ं

धुलिखेल अस्पतालले कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुसहित चार जनालाई आइसोलेसनमा राखिएकाे छ।

शनिबार मृत्यु भएकी महिलाको नवजात शिशु, श्रीमान,सासू र अर्का एक सहयोगीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले बताए। उनले चारैजनाको स्वाब संकलन गरिएको छ।

'अस्पतालमा एक दिनमा ९८ जनाको भन्दा बढिको कोरोना परीक्षण गर्न सकिँदै,' उनले भने,' उहाँहरुको रिपोर्ट भोलिसम्ममा आइसक्छ।'

मृत्यु भएकी महिला गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएकी र २४ गते सुत्केरी भएकी थिइन्। अस्पतालले २५ वैशाखमा डिस्चार्ज गरेपछि उनलाई सिन्धुपाल्चोकको राम्चेस्थित ठाेटनेरी लगिएको थियो।
 
ति महिलालाई जेठ १ गते ज्वरो र श्वासप्रश्वासलगायत समस्या देखिएपछि स्थानीय बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो। त्यसपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि सोही दिन धुलिखेल अस्पताल ल्याइएको थियो। उनको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ।

प्रकाशित मिति: : 2020-05-17 11:23:05

प्रतिकृया दिनुहोस्