ट्रम्पले विदेश मन्त्रालयका उच्च अधिकारी बर्खास्त गरेको सम्बन्धमा अनुसन्धान हुने

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका इन्सपेक्टर जनरल (आइजी) स्टिभ लिनिकलाई बर्खास्त गरेको घटनाको छानबिन हुने भएको छ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभ र माथिल्लो सदन सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टिभलाई बर्खास्त गरिएको समयमा गम्भीर चासो व्यक्त गर्दै तत्काल अनुसन्धानको घोषणा गरेको हो।

स्टिभले विदेशमन्त्री माइक पोम्पेओले शक्तिको दुरुपयोग गरेको भन्ने सम्बन्धी अनुसन्धान सुरु गरेका थिए। सोही कारण ट्रम्पले उनलाई बर्खास्त गरेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्।

अमेरिकी सदनका शीर्ष डेमोक्र्याटहरुले ट्रम्पले नियामक निकायका अधिकारीलाई निहित स्वार्थका लागि बर्खास्त गरेको आरोप लगाउँदै छानबिन गर्ने बताएका हुन्।

स्टिभलाई पूर्व राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका थिए। उनले विदेश विभागमा हुने गरेका खर्च तथा व्यवस्थापनमा हुने कमजोरीमाथि निगरानी गर्ने गरेका थिए।

उनी बर्खास्त हुनु भन्दा केही पूर्व मात्रै तल्लो सदनको विदेश सम्बन्ध समितिका अध्यक्षले स्टिभले विदेशमन्त्री पोम्पेओले शक्तिको दुरुपयोग गरेको भन्ने सम्बन्धमा अनुसन्धान थालेको बताएका थिए।

शुक्रबार बर्खास्त गर्दै ट्रम्पले आफ्नो पूर्ण विश्वास उनमा नरहेको बताएका थिए। ट्रम्पको कार्यले डेमोक्र्याटिक पार्टीका शीर्ष नेताहरुलाई आक्रोशित बनाएको छ। ट्रम्प कर्मचारीविरुद्ध लागि परेको उनीहरुले बताएका छन्।

स्टिभको बर्खास्ती राजनीतिक कारणबाट प्रेरित रहेकाले त्यसमा स्वार्थ देखिएको र यसको सख्त विरोध गर्ने डेमोक्र्याटले बताएका छन्।

तल्लो सदनका सांसद एलिवट इन्गेल र सिनेटर बब मेनेन्डेजले संयुक्त वक्तव्य जारी गरेर आउँदो शुक्रबारसम्म स्टिभको बर्खास्ती सम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन राष्ट्रपति कार्यालय ह्वाइट हाउस र विदेश मन्त्रालयसँग आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-05-17 08:48:21

प्रतिकृया दिनुहोस्