धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पुष्टि भएकाे छैन: मन्त्रालय

बिएल संवाददाता

काठमाडाै‌ं

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस (कोभिड–१९)  पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा  सिन्धुपाल्चोक बाह्रबिसे ९ स्थित ठोटनेरीकी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको बताए। त्यसपछि  वैशाख २४ गते उनको नर्मल डेलिभरी भएको जानकारी दिए । 

उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए । 

तर निको हुनुको साटो उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा बाटो मै मृत्यु भएको थियो। 

यससम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोना भाइरससम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी  दिने देवकोटाले बताए । 

यता बाह्रबिसे नगरपालिकाका सूचना अधिकृत बिकाश पौडेलले भने धुलिखेल अस्पतालमा पीसीआरबाट स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए। 

‘धुलिखेल अस्पालमा परीक्षण गर्दा पोजेटिभ देखिएको छ। अलि संकास्पद देखिएपछि काठमाडौं पठाउनु भएको छ भन्ने जानकारी आएको छ। आज वा भोलिमा काठमाडौंबाट रिपोर्ट आउँछ भन्नु भएको छ,’बिएल नेपाली सेवासँग उनले भने।

कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले पनि जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । 

प्रकाशित मिति: : 2020-05-16 16:45:07

प्रतिकृया दिनुहोस्