रहस्यमय दासढुंगा घटनाको यथार्थ अन्वेषण गर्दैछाैँ: अध्यक्षद्वय ओली– प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

 नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन्।

२७ औं मदन–आश्रित स्मृति दिवस सन्दर्भमा आज जेठ ३ गते दुवै अध्यक्ष ओली र प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन्।

जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन।

दुर्घटनाका साक्षी रहेका जीप चालक अमर लामाको २०६० सालमा माओवादीले गोली हानी कीर्तिपुरमा हत्या गरेपछि यो घटना थप रहस्यमय भएको छ।   

‘यी दुई लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुखद् निधन भएको आज २७ बर्ष वितेकोे छ। उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन। उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्’, ओली प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुन: व्यक्त गर्दछ।’

त्यस्तै ओली–प्रचण्डले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प समेत गरेका छन्। मदन आश्रित स्मृति दिवसकै ऐतिहासिक सनदर्भ २ बर्ष अगाडि २०७५ जेठ ३ गते ततकालिन एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा बनेको थियो।

प्रकाशित मिति: : 2020-05-16 08:47:33

प्रतिकृया दिनुहोस्