खोप बने पनि वा नबने पनि अमेरिकामा लकडाउन खुल्छ: राष्ट्रपति ट्रम्प

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन्। यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने बताएका ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन्।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा शुक्रबार भएको पत्रकार सम्मेलनमा भने, ‘म मानिसहरुले लकडाउन खुल्नका लागि खोप नै चाहिन्छ भन्ने सोचुन् भन्ने चाहन्नँ, खोप बने पनि वा नबने पनि हामीले लकडाउन खुलाउने प्रक्रिया थालिसकेका छौँ।’

 विज्ञहरुले खोप पत्ता लागेपछि मात्रै अमेरिकालाई पूर्ण रुपमा लकडाउन मुक्त बनाउन सकिने बताएका छन्। तर खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने ट्रम्पले बताए।

उनले भने, ‘धेरै अवस्थामा खोप हुँदैन, भाइरस वा फ्लू आउँछ र मानिसहरुले त्यससँग लड्छन्। केही अवस्थामा हामीले खोप कहिल्यै बनाउन सक्दैनौँ, र पनि भाइरस जान्छ।’ ट्रम्पले विद्यालय पनि खुला गर्ने बताएका छन्।

यो हप्ताको सुरुमा कोरोना भाइरस टास्कफोर्सका उच्च अधिकारी डा एन्थोनी फाउचीले खोप बिना महामारी नियन्त्रणमा आउने सम्भावना नरहेको बताएका थिए। अहिले नै लकडाउन खुलाए समस्या थप विकराल हुने र आउँदो हिउँदामा महामारीले भयावह रुप लिन सक्ने उनले बताएका थिए।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट हालसम्म ८७ हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ। यस्तै कुल संक्रमितको संख्या अमेरिकामा १४ लाख ४२ हजार भन्दा धेरै पुगेको जोन्स हप्किन्स विश्वविद्यायलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-05-16 08:06:53

प्रतिकृया दिनुहोस्