राष्ट्रपतिलाई संसद भवनमा फूलगुच्छा नदिइने, घोडासहितको ‘स्कर्टिङ’ पनि नगराइने

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद भवनमा फूलगुच्छा नदिइने भएको छ। नीति तथा कार्यक्रम पेश गर्न संघीय संसद भवन नयाँ बानेश्वर जाँदा संसद सचिवालयका तर्फबाट सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाट राष्ट्रपति फूल दिने चलन थियो। 

तर यसपटक कोरोना भाइरसको संक्रमणको डरले   राष्ट्रपतिलाई फूलगुच्छा नदिइने सचिवालयको तयारी छ। राष्ट्रपतिलाई नमस्कारबाटै स्वागत गरिनेछ।

शुक्रबार अपरान्ह ४ बजे उनले नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ। त्यसको लागि उनी पौने चार बजे शितलनिवासबाट हिँड्ने छिन्।

भण्डारी संसद भवन पुग्दा सवारी पनि यसपटक विगतको तुलनामा छरितो पार्ने तयारी सचिवालयको छ। राष्ट्रपति भण्डारी संसद भवन प्रवेश गर्दा यसपटक घोडासहितको स्कर्टिङ (रिसल्ला) नगराउने तयारी छ।

विगतमा बबरमहलदेखि राष्ट्रपतिलाई घोडासहितको नेपाली सेनाको डफ्फाले स्कर्टिङ गर्ने गरेको थियो। तर यसपटक मिलेसम्म रिसल्ला नगराउने र गराउनै परे संघीय संसदको गेटबाट भित्र प्रवेश गर्दासम्म मात्र गराउने तयारी भैरहेको सचिवालय स्रोतले जानकारी दियो।

यसपटक संसद भवनमा सांसदबाहेक उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक नियोगका प्रमुखहरू, मुख्य सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रधान सेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका सचिवसँगै गृह,अर्थ र रक्षा सचिवमात्र हुनेछन्।

सचिवालयले यसपटक आगन्तुकलाई पास जारी गरेको छैन। संसद सचिवालयले विगतमा नीति तथा कार्यक्रम पेश गर्ने दिन पूर्वसांसददेखि सरकारले विशिष्ट योगदान दिएर सम्मान गरेका व्यक्ति र आगन्तुकहरूलाई निम्ता दिने गरेको थियो। 

तर संसद भवनमा सिट व्यवस्थापनको चुनौती भएपछि सचिवालयले थोरै मान्छे मात्र निम्त्याएको छ। जसले गर्दा यसपटक नीति तथा कार्यक्रम पेश हुँदै गर्दा विभिन्न मुलकुका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरू संसद भवनभित्र हुने छैनन्।

प्रकाशित मिति: : 2020-05-15 12:31:20

प्रतिकृया दिनुहोस्