लगभग ६० दिनको कोरोना कहरलाई फर्किएर हेर्दा!

प्रमोद सिटौला

न्यूयोर्क

सर्वप्रथम कोरोना भाईरसको माहामारीबाट जीवन गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु। साथै बिरामी भई उपचारतको शीघ्र स्वास्थ्य लाभको कामना।

अमेरिका आए देखिकै मेरो दैनिकी ब्यस्त रह्यो। श्रमको मूल्य खोज्दा खोज्दै विश्वको राजधानी र ब्यस्त शहर अमेरिकाको न्यूयोर्कलाई आधार बनाएर पसिनाको मुल्य खोज्न थालेँ। न्यूयोर्कका अग्ला घरहरू बिच मेरो भबिष्य पनि खोजिरहन्थेँ।

बितेका वर्षमा मैले ब्यक्तिगत जीवनमा के कति बृद्धि विकास गरेँ, गर्न सकेँ या सकिनँ, त्यो अहिले तर्कनाको विषय बनेन। यहाँ बसाईको क्रमसँगै सकेको, पुगेको, मिलेको र कामबाट बाँचेको समय थोर बहुत नेपाली समुदाय, यसका बिभिन्न गतिविधि, कैयन संघ संस्था र आस्था तथा धरोहरका बिम्बमा नखर्चिएको भने पटक्कै होइन। तर, पूर्वको पहाड आठराई तेह्रथुमबाट एउटा अवसरको खोजीमा झापा तराई अनि काठमाडौंहुँदै सात समुन्द्रपारको मुग्लानसम्मको मेरो जीवनको यात्रा तय गर्दाको पृष्ठभूमीलाई मैले सँधै आधार र प्रस्थानबिन्दु मानेँ र ठानेँ।

मेरा अगाडि र सामुन्ने सँधै एउटा प्रश्न खडा हुन्थ्यो- यहाँको गन्तब्य रोजेपछि पहिलो सर्त झोला बोक्नुपूर्वको परिवेश, परिस्थिति वा अवस्थालाई चटक्कै भुल्दा बिदेशिनुको सार नै समाप्त हुन सक्छ कि! यसमा म सधैं शतर्क, चिन्तित रहेँ, छु र रहिरहनेछु।

न्यूयोर्क शहरको हरेक सडक र गल्ली मेरा विश्रामका घर बने। मेरा थकाई मेटानका चाँदीको घेरा देखिए, सँगै सितल दिने चौतारी र उज्ज्यालो दिने ज्योतिहरु। परदेश बसाईको क्रममा सानातिना समस्या यहाँ र मातृभूमीमा नपरेका होईनन्, बितेका वर्षमा परेका यी प्राकृतिक प्रकोप र अन्य विपतका समस्यालाई जेनतेन सकेको सहयोग गरेर वा याचनाबाट टारिएका धेरै सम्झनाहरु मानसपटलमा यो लेख्दै गर्दा छचल्किएको छ।

यो पटक नेपालको चुरेबाट वर्षातमा निस्कने खहरे बाढीबाट ध्वस्त हुने तराई मधेशका ती उर्बर फाँट नष्ट भएसरी विश्व मानव जगतलाई नै त्रसिद पार्दै एकैचोटी यति ठूलो संकट निम्त्यायोकि म बबुरो सडकमा दौडिरहेको श्रमजिवीलाई ढपक्कै छोप्यो र ६० दिनदेखि एउटै कोठामा थन्किन बाध्य पार्‍यो।

बितेका यी ६० दिन जीवन, जगत र मानव जगत साथै मानवीय स्वभाव र चरित्रका बारेमा केलाउने र खासगरी आफ्नै जीवन पद्धतिलाई चिन्ने मौकामा परिणत गर्‍यो।

यी पोखिएका र अझ बढी पोखिन खोज्दै गरेका मेरा अन्तरआत्माका भावानालाई भविष्यमा पनि पस्कदै जाने नै छु। त्यो पूर्व मेरा केही विषयलाई मैले उठान गरिनँ भने आफैं प्रति अन्याय गरेको महशुस हुनेछ।

बितेका कहालीलाग्दो ६० दिनका पीडाका बारेमा लेखनाथ वा लक्ष्मी प्रसाद भएका भए ठूला ठूला महाकाब्यको नै सृजना हुने थियो। मसँग त्यो ज्ञान, क्षमता र सामर्थ छैन, सँगै रहेन पनि।

मैले बितेका दिनमा घरमै बसेर मिलाउन सकिने चाँजोपाँजो, सहयोगको लागि अपिल, सूचनाको आदनप्रदान, खोज खबर र मानवीय हिसाबले गर्न सकिने अन्य कामहरु सम्भव रहेसम्म गरेँ।

एउटा कुरा सत्य हो, मैले अरू साथीभाइले गर्नुभए जस्तो दैलोदैलोमा सामान पुर्‍याउने स्वंयम् सेवा गर्न सकिनँ र गरेका साथीभाइको उच्च प्रसंशा र सम्मान गर्न चाहन्छु।

नामै किटेर कसैको अनुरागी बन्दै गर्दा कैयन समाजसेवीको सेवामा चोट पुग्नसक्छ, त्यसैले हामी विदेसिएका नेपालीको हित र सेवाका निम्ति स्थापित सबै किसिमका संघ संस्था, यसका सेवारूपी मनबाट सजिएका ती लामालामा हात र जोखिमलाई अवसरमा परिणत गर्न सक्ने वीर सामाजिक अभियन्ताज्यूलाई एकै पटक सगरमाथाको शीरसरी नमन् गरेँ। ????

यो भन्दा धेरै ब्याख्या गर्नु बान्छनीय ठानिनँ, कठिनताकै क्रममा रहेको र बाकी सम्मान, सलाम र प्रसंशा भविष्यलाई छोडेँ।

अन्त्यमा मानवीय संकटको यस विषम घडीलाई हल्का र अन्य प्राकृतिक प्रकोप जस्तैगरी लिनु र हेरिनु कदापी उपयुक्त हुँदैन। यो आफैंमा निकै ठूलो माहामारी हो, गएका दिनमा जो जसले स्वतस्फूर्त मन र हात एकैचोटी फैलाउनु भयो, उहाँहरू सबै उदाहरणीय पात्र हुनुहुन्छ।

सकेको सबैले गरेका छन्। गर्नेलाई सम्मान र गर्न खोज्नेलाई हौसला गरौं। बिच बिचमा अनेकौ तर्कनाहरु सारेर मृत्युको सम्मुखको रहेको जीवनको खिल्ली नउडाउँ। आफू पनि सुरक्षित बसौं। आफू पनि बाँचौं र अरूलाई पनि बँचाऔं।

प्रकाशित मिति: : 2020-05-15 09:59:32

प्रतिकृया दिनुहोस्