फ्रान्सेली औषधि उत्पादक कम्पनी सानोफीले कोभिड–१९ को खोप उत्पादन गर्न सफल भएमा त्यसको पहिलो प्राथमिकतामा अमेरिकालाई राख्नु अस्वीकार्य रहेको बताएको छ।
कोभिड-१९ को खोप बनाउने प्रयासमा विश्वका विभिन्न प्रयोगशालाहरु लागि परेका छन्। सामान्य अवस्थामा खोप पूर्ण रुपमा तयार हुन वर्षौँ लाग्छ। तर कोरोना भाइरसको महामारी विश्वभर भयावह रुपमा फैलिएकाले वैज्ञानिकहरु कम्तिमा डेढ वर्ष भित्रै खोप प्रयोगमा ल्याउन सकिने गरी काम गरिरहेका छन्।
सानोफीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पउल हडसनले ठूलो मात्रामा जोखिम पूर्ण लगानी गरेकाले अमेरिका सरकारसँग ठूलोमा मात्रामा खोपको पूर्व अडर गर्न पाउने अधिकार रहेको बताएका थिए।
फ्रान्सले सानोफीका सिइओको सोही अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै खोपमा अमेरिकालाई पहिलो प्राथमिकतामा राखिनु कुनै पनि हालतमा स्वीकार्य नरहेको फ्रान्सका उपवित्त मन्त्री एग्नेस पानिएर रनएचरले बताएका हुन्।
रनएचरले भनेका छन्, ‘कुनै पनि देशको आर्थिक कारणले नै उसलाई खोपमा प्राथमिकता दिने कुरा हाम्रा लागि अस्वीकार्य छ।’
त्यसपछि खोपमा सबैको पहुँच हुनु पर्ने फ्रान्सका प्रधानमन्त्री इडूवार्ड फिलिपले बताए।
यस्तै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले खोप मुनाफा वा बजारी करणका हिसाबले सोचिन नहुने बताएका छन्। उनले आउँदो हप्ता सानोफीका उच्च अधिकारीसँग भेट गर्ने बताइएको छ।
यो महिनाको सुरुमा युरोपियन युनियनको अग्रसरतामा कोभिड–१९ को खोप बनाउने प्रयासका लागि ८ अर्ब अमेरिकी डलर बराबरको सहयोग जुटाउनका लागि अनलाईन सम्मेलन भएको थियो। जसमा ४० देश तथा दातृ निकायको सहभागिता थियो। तर अमेरिका र रुसले भाग लिएका थिएनन्।
कोभिड–१९ को खोप बनाउने प्रयासमा सानोफीलाई अमेरिकाको बायोमेडिकल एड्भान्स रिसर्च एण्ड डेभलप्मेन्ट अथोरिटी (बार्डा) ले आंशिक रुपमा सहयोग गरेको छ।
तर पछिल्ला वर्षहरुमा सानोफीले करोडौँ युरो बराबरको कर छुट फ्रान्स सरकारबाट पाउँदै आएको छ। फ्रान्स सरकारले अनुसन्धानलाई सहयोग गर्न भन्दै कर छुट दिने गरेको हो।
तर सानोफीका सिइओ हडसनले ब्लुमबर्गसँगको अन्तर्वार्तामा अमेरिकालाई प्राथमिकता दिने कुराले फ्रान्समा हल्ला खैला मच्चिएको छ। यसले राजनीतिक रुप पनि लिएको छ।