पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौं आउनका लागि बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरिएको छ। झापा जिल्ला प्रशासनले जारी गरेको पास गृह मन्त्रालयको आदेशमा खारेज भएको सिडियो उदयबहादुर रानामगरले पुष्टि गरे।
पूर्वराजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो। त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो।
‘पूर्व राजा र पूर्वरानी शुक्रबार राजधानी आउने कार्यक्रम थियो। हामीले सुरुमा सवारी पास जारी गरायौँ। पछि गृह मन्त्रालयमा बुझ्दा हाम्रो आदेश नहुँदासम्म केही पनि नगर्नु भन्ने कुरा आयो। त्यसैलाई तत्काल हामीले फोन गरेर सवारी पास खारेज गर्यौँ’, झापाका सिडियो रानामगरले भने।
पूर्वराजा ज्ञानेन्द्र शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए। झापामा रहेको आफ्नो हिमालय चिया बगानमा शाह दम्पती बसिरहेका थिए। अहिले पास जारी गर्न प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिन पर्ने व्यवस्था भएको कारण उनको पास खारेज गरिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।
‘मन्त्रालयले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको छ,’उक्त अधिकारीले भने,‘ जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको छ।’
प्रकृया पुगेपछि गृहले फेरि प्रशासनसँग समन्वयन गर्न सकिने उक्त अधिकारीले बताए।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ। गृह मन्त्रालयले सोमबार निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ। बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।
तर एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सक/नर्स/फर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादन/ढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ।
यस्ता सवारी साधन प्रयोगकर्तासँग अनिवार्य सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ।