बिहिबार ६ वर्षीय बालिकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका डाक्टर र नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
त्यहाँ उपचाररत बालिकामा बिहिबार बिहान कोरोना संक्रमण देखिएपछि उनको उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो।
ती बालिकालाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो। न्यूरो वार्डमा उपचाररत उनलाई बिहीबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो।
उनी टाउकोमा पलाएको ट्युमरको उपचारको लागि टिचिङ आएकी थिईन् । उनी नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएकी बिरामी हुन् ।
त्यससँगै न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ।
उनमा कोरोना पुष्टि भएसँगै उनको आमाको पनि स्वाब परीक्षणको लागि पठाइएको छ । यससँगै संक्रमित बालिका राखिएको वार्डमा कार्यरत डाक्टर, नर्स, हेल्परको पनि स्वाब परीक्षणको लागि पठाईएको छ ।
उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
कोरोना संक्रमण देखिएसँगै टिचीङमा अति संवेदनशील बाहेकका बिरामीहरुलाई आफन्तहरुले घर फर्काउन थालेका छन्।
नाक, कान, घाँटी रोग विभाग ईएनटीको न्युरो वार्ड सिल गरिएको छ ।
उनलाई कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालले थप रणनीति तय गर्न आकस्मिक बैठक राखेको थियो । ७ दिनदेखि अस्पतालमा भर्ना भएकी बिरामी संक्रमण पुष्टि भएपछि थप निर्णय दिन बैठक बसेको हो ।
हालसम्म नेपालमा २ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौंको चन्द्रगिरीका एक ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा २ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।