भुमिगत अवस्थामै कमरेडको जनवादी बिहे सम्पन्न, बिहे खर्च सामाजिक कार्यमा

बिएल संवाददाता

रूकुम पूर्व

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका रूकुम पश्चिम जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाको भूमिगत अवस्थामा जनवादी बिहे सम्पन्न छ।

रूकुमको आठविसकोट नगरपालिका-८ निवासी बुढाले नेकपाकै विद्यार्थी संगठनमा आबद्ध रुकुमको खारा निवासी मेनका ओलीसँग सामाजिक दुरी कायम गर्दै बुधबार भूमिगत स्थानमा जनवादी विहे सम्पन्न गरेका हुन्।

बिहे खर्च सामाजिक कार्यमा लगानी

बिहेमा हुनेछ फजुल खर्च सामाजिक कार्यमा खर्च गरेको उनीहरूले बताए। रूकुमको आठविसकोट नगरपालिकामा निर्माण गरिएको कोरोना अस्पतालको लागि २५ हजार र सहिद गोकुल रानाकी श्रीमती मालति राना (बबई गाउँपालिका धनुबास दाङ) लाई २५ हजार सहयोग गरेको दुलाह चन्द्र बहादुर बुढाले जानकारी दिए।

थोरै साथीका बीच सामाजिक दुरि कायम गरेर पूर्ण जनवादी शैलीमा बिहे सम्पन्न भएको बुढाले जानकारी दिए। उनले परम्परागत बिहे शैलीलाई परिमार्जन गरि पार्टीको नीति र सिद्धान्तमा प्रतिबद्ध हुँदै साँस्कृतिक रुपान्तरणको सन्देश दिने उद्धेश्यमा बिहे गरेको बताए।

बुढा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालो मोसो दलेर चर्चामा आएका थिए। सरकारले उनको पार्टीलाई प्रतिबन्ध लगाएपछि भूमिगत रहेका उनीहरूको बिहेलाई नेकपा राप्ती ब्यूरोले अनुमति दिएपछि जनवादी शैली अनुसार बिहे सम्पन्न भएको हो।

प्रकाशित मिति: : 2020-05-14 11:15:02

प्रतिकृया दिनुहोस्