वीरगञ्जमा चार दर्जनभन्दा बढी पत्रकारको कोरोना परीक्षण गर्न नमूना संकलन {तस्वीरहरु}

वीरगञ्जमा दुईजना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको पनि कोरोना परीक्षण सुरू गरिएको छ। नारायणी अस्पतालका डा. उदयनारायण सिंहकाअनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन गर्न सुरु गरिएकाे हाे।

‘दुईजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि वीरगञ्ज क्षेत्रका पत्रकारहरुको पनि नमूना संकलन गरिएको छ,’ डा. सिंहले भने, ‘संक्रमित पत्रकारहरुको सम्पर्कमा रहेर काम गरेका झण्डै ४ दर्जन सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।’

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायका अनुसार पत्रकारहरुको थ्रोड स्वाबको नमूना केही नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिने र बाँकीलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाै‌मा पठाउने तयारी गरिएको छ।

वीरगञ्जमा अस्ति मंगलबार मात्र दुईजना पत्रकारसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै पर्सा जिल्लामा मात्र संक्रमितको संख्या ८५ पुगेको छ। बुधबार साँझ थपिएका ३ नयाँ संक्रमितहरुलाई पनि यही अस्पताल ल्याउने तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

उनका अनुसार नारायणी अस्पतालको आइसोलेशनमा ८७ जनाको उपचार भइरहेको छ। हालसम्म पर्सा जिल्लामा १ हजार ७ सयको पीसीआर टेष्ट र २ हजार ५ सय भन्दा बढीको आरडिटी टेष्ट गरिएको साहयक सिडियो बस्नेतले जानकारी दिए।

वीरगञ्ज तथा बारा/पर्सामा मंगलबार साँझदेखिनै अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। कोरोना नियन्त्रणका लागि नागरिकलाई घर भित्रै बस्न आग्रह गरिएपनि अटेर गरिएकोले नेपाल प्रहरी, सशस्त्र प्रहरीको साथमा स्थानिय प्रशासन ऐन अनुसार सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए।

प्रकाशित मिति: : 2020-05-14 07:40:08

प्रतिकृया दिनुहोस्