रामराज शर्मा र अमृत पौडेल
प्रधानमन्त्रीज्यू सारा संसारलाई नै कोरोनाभाइरसको चपेटामा पारिरहेका बेलामा अरुजस्तै तपाईँ पनि एकान्तवास ‘आइसोलेसन’मा हुनुहुँदो रहेछजस्तै लागेको छ । होइन भने त यो संकटका बेलामा जनताले अनुभूत गर्ने गरी केही सहुलियतको घोषणा पक्कै गर्नुहुने थियो । कतै यो बन्दाबन्दी (लकडाउन)को समयलाई आफ्नै पार्टीभित्रका फरक विचारधारा राख्नेहरुलाई तह लगाउन र सत्ता मजबुत गर्न पो प्रयोग गर्नु भएको छ छैन भन्ने शंका पनि लाग्छ । नाकाबन्दी र चुनाव वरपर अनि यसपटक भर्खर प्रधानमन्त्री बन्नुहुँदाको केपी ओलीलाई सम्झेर विदेशबाट यो पत्र लेखेको छौं । अन्यथा नमान्नु होला ।
अहिले हाम्रै उमेरका लाखौं युवा खाडी, मलेसिया, अफ्रिका र संसारभर नै पलायनवादीको बिल्ला भिर्दै दैनिक समृद्ध नेपालको सपना देखिरहेका छन् । तपाईँले विकासका सपना भाषणका रुपमा हामीलाई देखाउँदा देशमा रहेका युवाभन्दा पक्कै पनि हामी धेरै खुसी भएका थियाैँ । लाग्थ्यो ती आयोजना निर्माण सुरु वा सम्पन्न हुँदा हामीहरु देशमै अवसर छ है भनेर विदेश त्याग्ने थियौँ र आफ्नै परिवारसँग सुखदुःखका समय बिताउन स्वदेश फर्किने थियौँ । तर ती सपना त सपनामै रहिरहे । विपना बन्न सकेनन् ।