अमेरिकाका शीर्ष स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउचीले आँकडामा बताइएभन्दा थुप्रैको काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
रिपब्लिकनको नेतृत्व रहेको अमेरिकी सिनेटको समितिसँग भिडियो लिंक मार्फत कुराकानी गर्दै डा.फाउचीले अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्म आएको आधिकारिक तथ्यांक भन्दा बढी हुन सक्ने बताएका हुन्।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा हालसम्म ८२ हजारभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।
नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख रहेका डा.फाउचीले लकडाउन खोल्न हतार गरेको भन्दै यसले कोरोनाले थप मानिसहरुलाई संक्रमित बनाउन सक्ने चेतावनी पनि दिएका छन्।
डा. फाउचीले भने, ‘यसमा कुनै शंका छैन कि सावधानीका जति नै उपायहरु अपनाए पनि अझै धेरै संक्रमणका केसहरु आउने छन्।’ पर्याप्त सावधानी नअपनाइएमा महामारी पुनः आउन सक्ने वा यसको दोस्रो लहर चल्न सक्ने पनि उनले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन अन्त्य गरी व्यापार व्यवसाय सञ्चालन गर्ने पक्षमा छन्। लकडाउनको विरोधमा विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन्। केही राज्यले लकडाउन खुकुलो बनाउन थालेको छ।