अमेरिकी तल्लो सदनमा थप १,२०० दिने विधेयक, ट्रम्पको लागि टाउको दुखाइ

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

 

अमेरिकामा कोरोना कहरलाई ध्यानमा राखेर राहत विधेयकको राजनीति सुरू भएको छ। आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावलाई ध्यानमा राखेर सदनमा विभिन्न खाले राहत विधेयक प्रस्तुत हुन थालेका छन्। 

यसै क्रममा डेमोक्रेट बहुल अमेरिकी संसदको तल्लो सदनमा द हिरोज एक्ट प्रस्तुत भएको छ। करिव तीन खर्ब डलरको विधेयकमा दोश्रोपटक सबै करदातालाई प्रतिव्यक्ति एकहजार दुईसयका दरले प्रति परिवार बढीमा ६ हजार डलर दिने प्रस्ताव गरिएको छ।

हेर्नुस अमेरिकी संसदको तल्लो सदनमा द हिरोज एक्ट लाइभ भिडियो

अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो राहत प्याकेजका रूपमा अगाडि सारिएको विधेयक १८१५ पृष्ठको छ। विधेयकमा कोरोनाका कारण काम गुमाएर काममा फर्कन नपाउँने कामदारलाई २०२१ को जनवरीसम्म नै साप्ताहिक रूपमा ६०० अमेरिकी डलर बेरोजगार भत्ता दिनुपर्ने उल्लेख छ। विधेयकमा अत्यावश्यक कामदारका लागि २०० अर्ब, कोरोना भाइरसको टेस्टका लागि ७५ अर्ब, भाडा, मोर्गरेज र युटिलिटीमा सहायताका लागि ७५ अर्ब डलर छुट्याउने पनि उल्लेख गरिएको छ। 

यो विधेयकमाथि तल्लो सदनमा मंगलबारलेखि छलफल गरिने र शुक्रबार मतदान गरिने भनिएको छ। तल्लो सदनमा डेमोक्रेट्सकै बहुमत भएकाले डेमोक्रेट सांसदले ल्याएको यो विधेयक पारित हुने निश्चितप्राय: छ।

अमेरिकी तल्लो सदनमा करदातालाई थप १,२०० दिने प्रावधानसहितको विधेयक प्रस्तुत भएको छ। शुक्रबार मतदान भएर सिनेटमा पुग्ने यो विधेयक राष्ट्रपति  ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि अर्को टाउको दुखाइको विषय बनेको छ।  

यता डेमोक्रेट्स अन्तत: राम्ररी गृहकार्य गरिएको विधेयक आयो भनेर खुशी छन् भने उता राष्ट्रपति ट्रम्प र रिपब्लिकन सिनेटरका लागि भने यो विधेयक टाउको दुखाइको विषय  भएको छ। विधेयक पारित नगर्दा नोभेम्बर ३ को चुनावका मतदाता रिसाएर चुनाव हारिने डर छ भने पारित गरौं यसबाट सबैभन्दा बढी डेमोक्रेट्स मतदाता लाभान्वित हुने भएकाले त्यसो गर्दा पनि चुनाव हारिने डर छ। 

यसैबीच केही रिपब्लिकन सिनेटरले मुख खोलेर नै द हिरोज विधेयकको विरोध गरेका छन्। यसरी मुख खोल्नेमा राष्ट्रपति ट्रम्पनिकट लिण्से ग्राहम पनि छन्। उनले यो विधेयक अनावश्यक भएको र यो सिनेटमा नपुगी बाटैमा मरिसक्ने बताएका छन्। 

तर, सिनेटमा बहुमतका नेता मिच म्याक्कोनेलले भने त्यसो भन्न सकेका छैनन्। उनी आफैं पनि अर्को कार्यकालका लागि सिनेटको चुनाव लडिरहेकाले उनी सजिलै त्यसो भन्न सक्दैनन् । उनले भनेका राष्ट्रपति ट्रम्पसँग सल्लाह गरिरहेको र अगाडि बढ्ने भएमा दुईदलीय सहमतिका साथ अगाडि बढ्ने बताए। 

अहिले यो विधेयक राष्ट्रपति ट्रम्पका लागि नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहार जस्तो भएको छ। चुनावका मुखमा एकपछि अप्ठ्यारो भोगिरहेका उनका लागि द हिरोज विधेयकले पनि थप अप्ठ्यारोमा पारेको छ। 

प्रकाशित मिति: : 2020-05-13 03:36:37

प्रतिकृया दिनुहोस्