वर्षैपिच्छे संकलन गरिदै आएको बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनमा रोक लगाएको छ ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाले यस पटक यार्सा संकलनमा रोक लगाए जनाएको छ। गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले यार्सा संकलन गर्ने ठाउँमा मानिसहरुको भीड हुने भएकाले यस वर्ष यार्सा संकलनमा रोक लगाउनु परेको बताए।
कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको बन्दाबन्दीको कारण यार्सा संकलनमा प्रतिबन्ध लगाउनुपरेको गाउँपालिकाले जनाएको छ। यार्सा संकलनको लागि जिल्लामा देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेकाले भीडभाडमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले र सरकारले गरेको नियमलाई पालना गर्दै यार्सा संकलनमा रोक लगाइएको उपाध्यक्ष शाहीले बताइन्।
विगतका वर्षहरुमा यार्सा सिजन व्यवस्थापन समितिले यार्सा संकलनको लागि जेठ पहिलो साता पाटन खुला गर्ने गर्थे। गाउँपालिकाको वडा नम्बर १, २ र ३ को पानीढल, फूलबारी अरविजा, जंगला, पूपाल, पूर्वाङ, भित्रिवन, उङला, निम्कुलगायतका ठाउँमा यार्सागुम्बा पाइने गरेको उपाध्यक्ष शाहीले बताइन्।
यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मूख्य स्रोतको रुपमा रहेको यार्सागुम्बाको एक सिजनबाट स्थानीयले वर्षभरीको आवश्यक घर खर्च, पढाई लगायत थप आम्दनी पनि गर्ने गरेका थिए । संकलन सिजनमा एक महिना सम्म बुकीमै बिताउने उनिहरुले प्रतिपरिवारले यार्सा टिपेरै न्यूनतम ३० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको स्थानीयले बताएका छन्।
जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सा संकलन कार्यलाई यस वर्ष रोक्नको लागि संयन्त्र समितिले गाउँ कार्यपालिकालाई यसअघि नै प्रस्ताव पेश गरेको थियो । पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा यार्सा पाइनेगर्छ।