मोदीद्वारा २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारतीय रुपैयाँ बराबरको विशेष आर्थिक प्याकेजको घोषणा गरेका छन्। मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका हुन्।

यो प्याकेज भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १० प्रतिशत भएको उनले बताएका छन्। प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतको संकल्प पूरा गर्न आर्थिक प्याकेज ल्याइएको बताए। यो प्याकेज ल्याण्ड (भूमि), लेबर (श्रम), लिक्वीडिटी (तरलता) जस्ता समस्या सम्बोधन गर्न ल्याइएको उनले बताए।

‘यो आर्थिक प्याकेज देशको श्रमिक र किसानका लागि हो जो, हर स्थिति, हर मौसममा देशवासीका लागि दिनरात परिश्रम गर्छन्, यो आर्थिक प्याकेज देशका मध्यमवर्गका लागि हो। जसले इमान्दारिताका साथ देशको विकासमा आफ्नो योगदान दिइरहेका छन्।यो प्याकेज उद्योगीहरुको लागि हो जसले भारतको आर्थिक सामर्थ्य बुलन्द गरिदिएका छन्’ मोदीले भने।

उनले भारतले यस विपत्लाई अवसरमा बदल्ने बताउँदै जिकिर गरे। उनले भने, ‘म एउटा उदाहरण दिन चाहन्छु। जब कोरोनाको संकट सुरु भयो, तब भारतमा एउटा पनि पीपीई किट बन्दैन थियो। एन–९५ मास्क भारतमा नाम मात्रको उत्पादन हुन्थ्यो। आज स्थिति यस्तो छ कि हरेक दिन दुई लाख पीपीई र दुई लाख एन–९५ मास्क बन्दैछ। हामीले यस्तो किन गर्न सक्यौँ भने भारतले विपत्लाई अवसरमा बदल्यो।’

भारतमा अहिले लकडाउनको तेस्रो चरण जारी छ। मे ४ मा सुरु भएको लकडाउन मे १७ सम्म चल्नेछ। सोमबार मोदीले देशका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्सिङबाट ६ घण्टा छलफल गरेका थिए। छलफलमा उनले मुख्यमन्त्रीहरुसँग १५ मे सम्म लकडाउनको मोडलका लागि सुझाव पेस गर्न आग्रह गरेका थिए। ७ राज्य महाराष्ट्र, बिहार, पञ्जाब, तेलंगाना, पश्चिम बंगाल, हिमाचल र असमले लकडाउन बढाउन सुझाव दिएका थिए।

प्रकाशित मिति: : 2020-05-12 21:31:57

प्रतिकृया दिनुहोस्