ह्वाइट हाउसमा दुर्लभ दृश्य, 'नास्टी क्वेसन' भन्दै जंगिएर निस्किए ट्रम्प !

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा सोमबार आयोजित प्रेस बिफ्रिङको अन्त्य एक दुर्लभ दृश्यका साथ सकेका छन्। 

प्रेस बिफ्रिङको अन्तिममा सीबीएस न्युजकी ह्वाइट हाउस सम्वाददाता वाइजा जियाङको थप प्रश्नमा ट्रम्प एक्ककासी तातिए। त्यसपछि पालो पाएकी सिएनएनकी केट्लन कोलिन्सको प्रश्न छल्न अरूलाई पालो दिइरहेकै बेला जियाङले अर्को प्रश्न सोधेपछि उनी त्यसको जवाफ नै नदिई बाहिरिए।

जियाङले सोधेकी थिइन्, 'तपाई किन भाइक्रस परीक्षणको कुरा आउने बित्तिकै जहिले पनि विश्वका अरु देशभन्दा अमेरिकाले एकदमै धेरै मानिसमा परीक्षण गरेको भनेर विश्वब्यापी प्रतिस्पर्धा जस्तो गर्नुहुन्छ ? जबकि अमेरिकामै यति धेरै मानिसको मृत्‍यु भएको छ ?'

जवाफमा राष्ट्रपति ट्रम्पले भने, 'हो नि ! संसारभर मान्छेहरुको मृत्‍यु भएको छ। यदि तिम्रो यही प्रश्न हो भने चाइनालाई सोध ।' त्यस लगत्तै राष्ट्रपति अगाडि भने, ' त्यो प्रश्न मलाई सोध्न्ने होइन।  चीनलाई सोध ल ! यदि चीनलाई सोध्यौ भने अस्वभाविक उत्तर पाउँछौ।' 

त्यसपछि प्रश्न सोध्ने पालो पाएकी सीएनएनकी ह्वाइट हाउस सम्वाददाता कोलिन्स एकै छिन् रोकिइन्। त्यतिकैमा जियाङले थप प्रश्न सोध्न भ्याइहालिन्, ' बिशेष गरेर मलाई नै त्यसो किन भनेको ? त्यसपछि राष्ट्रपति ट्रम्पले आफ्नो रौद्ररूप देखाउँदै भने, 'न्यास्टी…क्वेसन।' 

आफ्नो पालोमा कोलिन्सले जियाङलाई प्रश्न सोध्ने मौका दिएको भनेर ट्रम्पले उनको प्रश्न नलिने भनेर नेक्स्ट प्लिज भनिरहेका थिए । जियाङ र कोलिन्सले थप प्रश्न सोध्न नछोडेपछि उनी जंगिएर बाहिरिए । 

ह्वाइट हाउसमा नसुहाउने यो दृश्य देखेर आम अमेरिकीको मन भने अमिलो भयो। उनीहरूलाई लाग्यो होला, यो अमेरिकी राष्ट्रपतिका लागि सुहाउने दृश्य थिएन। 

जियाङ चिनिया मुलकी पत्रकार हुन् । चीनमा जन्मिएकी उनी सानै उमेरमा अमेरिका आएकी थिइन्। अमेरिकामा पढाइ र बढाइ गरेकी उनी अमेरिकी नागरिक हुन्। चीनलाई उत्तर सोध्नु भनेर राष्ट्रपतिले जानी जानी नश्लीय व्यवहार गरेको उनले आरोप लगाएकी छिन्।

 

 

प्रकाशित मिति: : 2020-05-12 06:13:55

प्रतिकृया दिनुहोस्