ओली-मृगौला प्रत्यारोपणमा संलग्न डा. ज्ञवालीलाई नियुक्ति दिन रातारात नियम परिवर्तन

नेपालमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले चाहे जे पनि हुन्छ भन्ने अर्को प्रमाण फेला परेको छ। उनको मृगौला प्रत्यारोपणमा सलंग डाक्टर डा. प्रेमराज ज्ञवालीलाई सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र-भक्तपुरको कार्यकारी निर्देशकमा नियुक्त गर्न मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश (२०६८)नै रातारात परिवर्तन गरिएको हो। 

सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र-भक्तपुरमा पहिला  ‘नेपाल सरकार स्वास्थ्य सेवा’ को  कार्यकारी निर्देशक हुनुपर्ने भनिएको थियो तर त्रिवि शिक्षण अस्पतालका डा. ज्ञवालीलाई त्यहाँ नियुक्ति दिन त्यो व्यवस्था मन्त्रिपरिषदले रातारात परिवर्तन गर्यो । तर, त्यसको जानकारी सरकारले सार्वजनिक नै गरेन। 

जब सरकारी चिकित्सक संघ नेपालले सोमबार स्वास्थ्य मन्त्रालय गएर नियुक्तिप्रति विरोध जनाए तब मन्त्रालयका पदाधिकारीहरुले भने केन्द्रको गठन आदेश मन्त्रिपरिषद्‌ले नै परिवर्तन गरेर नियुक्ति गरेको जानकारी गराए। त्यसपछि मात्र एक व्यक्तिलाई नियुक्ति दिन गठन आदेश नै परिवर्तन गरिएको तथ्य बाहिरियो। 

अहिले नेपालमा 'ओलीले चितायो कि बितायो' भन्ने खालको स्थिति निर्माण भएको छ।यसले गर्दा यहाँ विधिको शासन हैन, हुकुमी शासनको अभ्यास सुरू भएको छ।

सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले एउटा व्यक्तिलाई नियुक्ति गर्न गठन आदेशको कानुनी प्रक्रियासमेत रातारात परिवर्तन गर्नु भर्त्सनायोग्य कदम  भएको बताउँदै यसबारेमा कानुनी उपचार खोजिने पनि बताएका छन्। 

 सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र-भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या शाहबीच सुरूदेखि नै प्रतिष्ठायुद्ध चल्दैआएको थियो। डा. शाह जसरी पनि डा. श्रेष्ठलाई विस्थापित गर्न चाहन्थिन्। उनकै चाहनाअनुसार डा. श्रेष्ठलाई हटाउन यो खेल खेलिएको यो प्रतिष्ठायुद्धलाई नजिकबाट हेरिरहेका एक चिकित्सकले बताए।

उनले यो सबै ओली सरकारको स्वेच्छाचारिताको परिणाम भएको पनि बताए। उनले भने, ' अहिले नेपालमा 'ओलीले चितायो कि बितायो' भन्ने खालको स्थिति निर्माण भएको छ।यसले गर्दा यहाँ विधिको शासन हैन, हुकुमी शासनको अभ्यास सुरू भएको छ।'

प्रकाशित मिति: : 2020-05-11 23:58:32

प्रतिकृया दिनुहोस्