अमेरिकी उपराष्ट्रपति पेन्स सेल्फ क्वारेन्टाइनमा नबस्ने

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सेल्फ क्वारेन्टाइनमा नबस्ने बताएका छन् । आफ्ना सहयोगीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपनि उनले सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका हुन् ।  

उपराष्ट्रपतिका प्रवक्ता डेभिन ओमाल्लीले उपराष्ट्रपति पेन्स क्वारेन्टाइनमा बस्ने कुनै योजना नरहेको र नियमित रुपमा आफ्नो काम गरिरहने जानकारी दिए ।

उपराष्ट्रपति पेन्सका एक जना सहयोगी तथा सञ्चार सचिव केट मिल्लरलाई कोरोनाभाइरसको सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । 

सहयोगीलाई सङ्क्रमण भएकाले उपराष्ट्रपति पेन्सलाई पनि सङ्क्रमण भएको हुन सक्ने, नदेखिएको हुन सक्ने र उनीबाट अरुलाई पनि सर्न सक्ने भएकाले उनी सेल्फ क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने सुझाव धेरैले दिएका थिए । 

तर उनले भने आफु नियमितरुपमा कार्यालय जाने, काम गर्ने र आफ्नै कार्यालयको स्वास्थ्य ईकाइसँग निरन्तर परामर्शमा रहने जानकारी दिए।

उपराष्ट्रपति पेन्सका अर्का एक सहयोगीले पहिलाभन्दा केही सतर्कता अपनाउने तर पूर्ण रुपमा सेल्फ क्वारेन्टाइनमा भने नबस्ने निर्णय भएको बताएका छन् ।  

सञ्चार सचिव मिलरलाई गत शुक्रबार कोरोनासङ्क्रमण भएको पुष्टि गरिएको थियो । ह्वाइट हाउसमा कार्यरत भएका कोरोनाभाइरसबाट सङ्क्रमितमध्ये उनी दोस्रो व्यक्ति हुन्। 

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सवैभन्दा धेरै संख्या अमेरिकामै रहेको छ । 

पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाका कारण १३ लाख २८ हजार २०१ जना विरामी भएका छन् भने ७९ हजार ५०८ जनाको मृत्यु भएको छ । 
 

प्रकाशित मिति: : 2020-05-11 22:26:14

प्रतिकृया दिनुहोस्