सीमा विवादबारे भारत र चीनसँग संवाद गराैँ: कांग्रेस

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमा विवादबारे भारत र चीनसँग संवाद गर्न आग्रह गरेको छ। 

सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे सरकारले उच्च स्तरीय कुटनैतिक प्रक्रिया मार्फत आजको मुद्दा हल गर्न गम्भीर पहलकदमी गर्नुपर्ने बताएका छन्।

शर्माले भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले विरोध जनाएको बताएका छन्।

नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउँदै दुबै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो बिषयमा दुबै राष्ट्रसँग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औंल्याउन चाहन्छौं,’उनले भनेका छन्।

यस्तै उनले सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार भएको दाबी गरेका छन्। 

'महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा आजको मितिमा पुनः दोहोर‍्‌याउन चाहन्छौं,’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप आफूहरुलाई अस्वीकार्य भएको शर्माले बताए।

विज्ञप्तिमा भनिएको छ, ‘संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्दछौं र नेपालका बारे अरु राष्ट्रसंग पनि त्यही अपेक्षा राख्दछौं। अतः दुबै छिमेकी मित्र राष्ट्र संग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ। सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न।’

दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न कांग्रेस  सरकारलाई फेरि पनि आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-05-11 17:58:34

प्रतिकृया दिनुहोस्