सम्पूर्ण विश्व कोरोनाको संक्रमणले अक्रान्त भएको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमै बसेर प्रविधिका मद्दतले नेपाली भूमि मिचेर बनेको लिपुलेक सडकको उद्घाटन गरेको दुई दिन भयो।
भारतीय अद्र्धसैनिक निर्माण दस्ता बोर्डर रोड अर्गनाईजेशनले बनाएको यो सडकको ट्रयाक मात्रै खुलेको हो। विश्वका पाँच प्रमुख अर्थतन्त्रमध्ये दुई अर्थतन्त्र भारत र चीनको आ–आफ्नो स्वार्थ अनुरुप खुलेको यो सडकको सपना भारतले सन १९६२ को युद्ध चीनसँग हारेपछि देखेको थियो।
फरक यति हो, ट्रयाक अहिले खुलेको हो। यो सडक खोल्ने सपनामा सन् १९९० को सुरुवातदेखि नै उसले काम गर्दै आएको थियो।
दुई महिनाअघि भारतले नेपाली भूभाग मिचेर सडक बनाउन थालेको खबर सञ्चार माध्यममा आयो। फागुन पहिलो साता महोत्सव उद्घाटन गर्न दार्चुला पुगेका रक्षामन्त्री ईश्वर पोखरेल र दार्चुलाका संघीय प्रतिनिधि गणेश ठगुन्ना लगायतको जम्बोे टोली सेनाको हेलिकोप्टर लगेर सशस्त्र प्रहरीका लागि बोर्डर आउट पोष्टको जग्गा हेर्ने नाममा ब्यास क्षेत्र पुग्दा, के उनले भारतले बनाइरहेको सडक देखेनन्?
हाँसो लाग्छ आइतबार १९ किलोमिटर नेपाली भुमि मिचेर भारतले सडक बनाएको परराष्ट्र मन्त्रालयको विज्ञप्ति देख्दा र संसदमा भएको हल्ला हेर्दा। प्रत्येक राष्ट्रवादी नेपालीलाई सुस्ता,कालापानी र लिपुलेकको अवस्था थाहा छ। तर, संसदमा उनीहरू एकमत किन हुदैनन्? अहिले फेरि जनताको पसिनाको तलबको ब्यवस्था पनि त छ। नुनको सोझो गर्ने बेला भएन र?
सशस्त्र विद्रोह सुरु भएको बेला सन् २००९ मा ग्रेटर नेपाल अभियन्ता तथा चलचित्र निर्देशक मनोज पण्डितसँग भारतले कब्जा गरेको लिपुलेकको किनारमा दार्चुलालाई अहिले केन्द्रमा प्रतिनिधित्व गर्ने गणेश ठगुन्नासँग यो संवाददाता पनि थियो। पटक पटक कालापानीमा कब्जा बढाउदै लगेको भारतीय नियत नाकाबन्दीमा चर्को राष्ट्रवादको कुरा गर्ने अहिलेका प्रधानमन्त्री र उनका ‘हनुमान’हरूलाई थिएन भन्नु नयाँ चुटकिला हो।
धनगढीमा समाजिक सञ्जालमा सबैका प्रिय बनेका गडसेरी माईलाले आज लेखेका छन, ‘दो चार एम्बुलेन्स,दो चार स्कुल बस,दो चार स्कुलके लेट्रिन,दो चार स्कालरसिपके लिए नाक रगडेंगे तो क्या बोल पाएगें’?
मुुलुकलाई दुई दशक यता बन्धक बनाएका सबै शासकको अवस्था यही हो। राष्ट्रियता ‘भाडमा जाओस्’ उनीहरूलाई जसरी पनि सत्ता, शक्ति, पैसा र विलासिता भए पुग्यो।
बडाकाजी अमरसिंह थापालाई कालीपारी आफूले कब्जा गरेको भू– भाग छाड्न अंग्रेजले प्रारम्भीक सम्झौता गराउन् सन १८१५ मई १५ को दुई सय वर्षपछि सन् २०१५ मई १५ मै लिपुलेक मिचिएको साझा विज्ञप्ती भारत र चीनले जारी गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको राजधानी बेईजिङमा आफ्ना समकक्षीसँग नेपाललाई छलेर लिपुलेकलाई दुई देशको व्यापारीक नाकाका रूपमा विकासगर्ने सम्झौता गरेपछि पाँच वर्षअघि यस्तो विज्ञप्ति आएको थियो।
कालापानीको समस्या सुल्झिन नपाउदै सँगै जोडिएको सजिलो हिमाली पास लिपुलेक बारे बेईजिङले पनि नेपालीलाई साथ नदिएको स्पष्ट छ।
हुँदै नभएको कालीको मुहान श्रृजना गरेर नेपाली भू–भाग कालापानीमा कब्जा जमाएको भारतीय फौजले सन १९६२ को भारत–चीन युुद्धपश्चात नै कालापानी र लिपुलेकमा भोगचलन गर्दै आएको छ।
मेरो पत्रकारीता जीवनमा दुई पटक यो बाटो छिछोल्दै तिब्बतको मानसरोवर पुग्दा आफूले महशुस गरेका र भेटेका कुरा विएल नेपाली सेवामार्फत राख्न यो उपयुक्त समय लागेकोे छ।
तिब्बती पठारसँग जोडिएको लिपुलेक र कालापानी दार्चुलाको पश्चिमोत्तरी त्रिदेशीय सीमा जोड्ने व्यास गाविस हो। ब्यास गाउँपालिकामा रहेका दुई गाउँ छांग्रु र तिंकरमा बर्षको ६ महिना मात्र मानवीय बसोवास हुन्छ। २०३१ सालतिर जनगणना हुँदा अहिले भारतले कब्जा गरेका कालापानीलगायत कुटी, नाभी र गुञ्जी नेपाल नै थिए।
नेपालतिरको बाटो स्तरीय नहुँदा ब्यास पुग्न अझैं पनि भारतको धार्चुला प्रशासनले दिएको अनुमतिपत्र बोकी काली किनारको घट्टे बगरसम्म २८ किलोमिटर जीपमा हुँईकिनु पर्ने बाध्यता छ। नदी किनारमा रहेका चट्टान काटी बनाएको डरलाग्दो बाटोबाट लामारी बुंदी र उच्च समस्थली मैदान छियालेक र गर्ब्याङ हुँदै कालीमा काठले बनेको सीमा सीता पुल तरेर व्यासीहरु आफ्ना गाउँ आउजाउ गर्छन्।
यहाँ जाने उपयुक्त मौसम भनेकै बर्खा सुरु भएपछि हो। यहीबेला भारतले उनीहरूको सबैभन्दा खर्चिलो मानिने मानसरोवर यात्रा पनि सुरु गर्छ, कालापानी र लिपुलेक हुँदै। आफ्ना सम्पूर्ण हिन्दु तिर्थालुका नाममा यो सडकबाट भारतीय सेनालाई चीनविरूद्ध सक्षम र सहज बनाउनु उनीहरूको मूल ध्येय पनि हो।
तिब्बत वा मानसरोवरको यात्रा सुरु गर्ने नेपालीले बाटोभरि भारतीय फौज र उनीहरूका जासुसको सामना गर्दैअघि बढनु पर्ने हुन्छ। यो बाटो हिँड्दा लाग्छ मानौ भारत चीनसँग आफूले हारेको युद्ध बिर्साउन भएभरका फौज राखेर सन्तुष्टि लिन खोजिरहेको छ। हरेक पाइलामा भारतीय फौज शंकालु दृष्टिले बटुवालाई घुरिरहेका हुन्छन्।
बर्खाले हिँउ पगालेपछि व्यासीहरू ब्यास पुग्छन् र चिसो बढन थालेपछि सदरमुकाम खलंगा झर्छन्। यो आउजाउलाई उनीहरूले उत्सवकै रूपमा मनाउँछन्, जसलाई कुुन्चा सर्ने भनिन्छ। अहिले कोरोनाका कारण उनीहरु सदरमुकाम मै थन्किएका छन्।
व्यासीहरू भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेकका प्रत्यक्षदर्शी हुन्। कुनै बेला उनीहरूको भेडा र चौरी चराउने कालापानीमा अहिले भारतीय फौजका बंकर र क्याम्प छन्,जहाँ अहिले उनीहरूलाई नै जान दिइन्न। व्यासी समाजमा रहेका बुुढापाकाले अहिले पनि पुरानो कालापानी र लिपुको कथा भनिरहेका हुन्छन्।
व्यासमा महाकालीमाथि बनेको सीता पुल नाका भन्दामाथिबाट बग्दै आउने कालीतिर कुनै नेपालीलाई आउजाउ गर्न अनुमति भारतीय फौजले दिदैन्।
सीता पुलबाट नेपाल पसेपछि आउने पहिलो गाउँ छांगु्र गाउँका बासिन्दाको रित जस्तै ६ महिना नेपाली प्रशासनको उपस्थिति छोटी भन्सार र प्रहरीका नाममा रहन्छ।
छांगु्रबाट आधा दिनको हिँडाइमा उत्तरी अन्तिम गाउँ तिंकर पुगिन्छ, जहाँ तिब्बतसँगको कारोबारका लागि तिंकर छोटी भन्सार छ। वर्षका ६ महिना व्यासमा के हुन्छ, ब्यासीलाई नै थाह हुन्न। सीमापारी हजारौंको संख्यामा रहेका भारतीय फौजले सजिलै व्यासमा पसेर के गर्छन्? उनीहरुलाई नै थाह होला।
प्रकृतिले नेपालतिरको भू–भागलाई आफ्नो हरियाली ओढाएको छ, आफ्ना अनुपम उपहारसँगै। तर भारततिरको समानान्तर भू–भाग हिमाली मरुभुमि जस्तै छ। प्रकृतिका दुश्मनका लागि यो ठाउँ वन्यजन्तु र वनस्पतिको अवैध कारोबार गर्ने बदनाम थलो पनि हो। सरकारले यसलाई नियन्त्रण गर्न यो त्रिदेशीय सीमा क्षेत्रलाई अपि नाम्पा संरक्षण क्षेत्र घोषणा गरेर काम अगाडी बढाएको छ।
संरक्षण क्षेत्र भित्रै अटाएका व्यासका दुबै गाउँमा अन्दाजी ६० घर परिवार छन्। तिंकरबाट एका बिहान हिँडेपछि १८ हजार फिट उचाईमा रहेको तिंकर भञ्ज्याङ रहेको छ, जहाँ नेपाल तिब्बत सीमा स्तम्भ छ।
यो सीमा स्तम्भको बाटो छोडेर तिंकर भञ्ज्याङभन्दा मुनी नेपालतिरै आउने टाटामा अन्तिम मौसमी खर्क छ, जहाँबाट बायाँ हेर्दा सुन्दर हिमताल छ। तिंकर भञ्ज्याङ र टाटाको बीचमा नेपाली सेनाले २०३२ साल भदौ अन्तिम साता दलाई लामाको स्वतन्त्र अभियानका कमाण्डर खम्पा विद्रोही वाङ्दी लामासमेत ५ जनालाई मारेको थियो।
यही ताल छेउ पारेर तिंकर भञ्ज्याङकै श्रृंखलामा दायाँतिर रहेको पहाड पुग्न दुई तीन घण्टा ज्यान जोखिमममा पारेपछि भारतीयले भन्ने गरेको छोटा कैलाशको फेदीमा पुगिन्छ।
छोटा कैलाशको फेदीबाट नियाल्दा तिंकरभन्दा सानो लिपुलेक भञ्ज्याङदेखि कालीको मुहान लिम्पियाधुरा र भारतीय फौजले कब्जा गरेको कालापानी उपत्यकाको बिहंगम दृश्य देखिन्छ। यही बाटो बचेका ५० खम्पा बिद्रोही कालापानी हुँदै भारत पुगेका थिए।
नेपाली गोठालाले कालापानी हेर्न देखाएको यो पहाडमा गोठालाहरू कहिले काहीँ पुगेपनि भारतीय फौज भने आइरहने विभिन्न प्रमाण भेटिन्छन्।
मुटु छेडने बतास चल्ने तिंकर भञ्ज्याङमा नेपाल तिब्बत सीमास्तम्भबाट दुई घण्टाको हिँडाइपछि तिब्बतको ज्यु ज्यु खोला पर्छ, जहाँबाट तिब्बती ल्याण्डक्रुजरमा विशाल पठार छिछोल्दै डेढ घण्टामै तिब्बतको पारुङ काउण्टीअन्र्तगतको विकासशील सहर ताक्लाकोट पुगिन्छ।
ज्यु ज्यु खोला तरेपछि आउने पठार आधाजति पुग्दा भारतले कब्जा गरेको लिपुलेक काटेर आउने भारतीय व्यवसायी र तिर्थालुसँग नेपालीको जम्का भेट हुन्छ। ताक्लाकोटको विकास चीनले ल्हासाकै तवरमा द्रुतगतिमा गरेको छ, जहाँबाट ४ लेनको सडकमा ५५ किलोमिटर हुँईकिदा हिन्दु र बौद्ध धर्माबलम्बीको साझा तिर्थस्थल मानसरोवरको किनार मै पुगिन्छ।
कालापानीमा भारतीयको कब्जापछि यही अप्ठेरो भञ्ज्याङ काटेर व्यासका बासिन्दाले तिब्बतसँगको आफ्नो परम्परागत बाटो लिपुलेकलाई बिर्सेर तिंकर रोजेका हुन्।
व्यासको समानान्तरमा पर्ने भारतको गर्ब्याङ,गुञ्जी,कुटी र नाभीमा बस्ने बासिन्दालाई नेपालमा सौका जनजातीको रुपमा चिनिन्छ भने भारतमा भोटिया उच्चारण गरिन्छ। काली नदी सीमा भएपनि ब्यास र समानान्तरका भारतीय गाउँका स्थानीयबीच एकै देशका बासिन्दा जस्तो स्नेह र बिहावारीको सम्बन्ध छ।
काली नदीको सांस्कृतिक,बैज्ञानिक र वास्तविक मुहान लिम्पियाधुरा हो भन्ने यथेस्ट प्रमाण हुँदाहुँदै पनि नमानिरहेको भारतीय पक्षले कम उचाईको हिमाली नाका लिपु भञ्याङ सजिलो भएका कारण नै कालापानीमा कब्जा जमाएको हो।
सन १९६२ भारत–चीन युद्धताका कालापानी मिचिएको मानिने भएपनि व्यासबाटै राष्ट्रिय पञ्चायतमा निर्वाचित सदस्य रहेका बहादुरसिंह ऐतवालले सन १९५९ देखि नै कालापानीमा भारतीय सुरक्षाकर्मीको उपस्थिती रहेको बताएका थिए।
यिनै ऐतवालले २०३१ मा नेपाल सरकारलाई सीमा मिचिएको औपचारिक जानकारी गराएका थिए। नेपालसँग अन्तर्राष्ट्रिय अदालतमा आफ्नो सीमा कालीको वास्तविक मुहान लिम्पियाधुरासम्म हो भन्ने यथेष्ट प्रमाण नभएका हैनन्। ईष्ट ईण्डिया कम्पनीले सन् १८२७ फेब्रुअरी १२ मा निकालेको कुमाउँ गढवालको नक्सालगायत बेलायतबाट सन् १८३० र १८४६ मा निकालिएका नक्सामा महाकालीको उद्गम लिम्पियाधुरा हो भन्ने प्रष्ट पारिएको छ। लिपु हाम्रै हो भन्ने प्रमाण खोज्न कहिँ जानु पर्दैन, व्यासका बासिन्दालाई साक्षी बनाए पुग्छ।
देशको कमजोर आर्थिक अवस्था, निकृष्ट राजनीति र दिल्ली दौडिने राजनैतिक नेतृत्व र कुटनैतिक दलाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नबुझेका हैनन्। लिपुसम्म कुनै दिन चार लेन सडक बन्यो भने अचम्म हुनुपर्दैन। लैनचौरको प्याकेट बुझ्ने कुटनीतिज्ञ,राजनीतिज्ञ र कर्मचारीतन्त्रदेखि पत्रकार सबै कालापानी र लिपुलेकका दोषी हुन्।
भारतले तिब्बत जोडन तीन दशकदेखि धार्चुला–तावाघाट–घट्टे बगर–बुँदी–छियालेक–कालापानी–लिपुलेक हुँदै तिब्बतसम्मको ट्रयाक खोलेको हो। यसै नाकाको भविष्य देखेर नै दार्चुला नजिकैको जोलजीवीदेखि तराइको टनकपुरसम्म महाकाली किनारैकिनार मात्र १ सय ८ किलोमिटर लामो महत्वकांक्षी सडकसमेत भारतले निर्माण गरिरहेको छ।
मुलुकतर्फ पनि महाकाली किनारैकिनार कञ्चनपुरसम्म सडक बन्नसके कञ्चनपुर–तिब्बतको दुरी २ सय ३० किलोमिटरको हाराहारीमा हुन्छ। तिब्बतले नेपाल सीमाको तिंकर भञ्ज्याङको काखसम्मै तिब्बती पठारमा कच्ची सडक बनाइसकेको छ। नेपालतिर राजनैतिक खिचातानीबीच बनिरहेको खलंगा तिंकर सडक ९६ किलोमिटर सर्भे भए पनि यो बाटो नेताका गाउँ तन्किदै जाँदा १ सय २० किलोमिटर पुगेको छ।
भारत वार्ताबाट भागिरहेको छ, अन्तर्राष्ट्रिय दबाबबाट टेबलमा ल्याउनुपर्छ : ठाकुर गैरे, नेकपा नेता (भिडियाे अन्तर्वार्ता)