लकडाउन खुकुलो बनाएपछि जर्मनीमा कोरोना भाइरस संक्रमित बढेको छ। यहाँ एक दिनमै संक्रमण बढेको पाइएको छ।
संक्रमणको आधारमा जर्मनी विश्वको सातौं अधिक प्रभावित देश हो। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जर्मनीमा कूल एक लाख ७१ हजार ८ सय ७९ जना संक्रमित छन्। यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या सात हजार ५६९ छ।
रोबर्ट कोच इन्सटिच्युटका अनुसार खुकुलो बनाएपछि संक्रमणको ‘रि–प्रोडक्सन रेट’ बढेको हो। यसको अर्थ एक संक्रमित व्यक्तिले कति जनालाई कोरोना भाइरस सार्न सक्छ, त्यो दर बढेको बीबीसीले जनाएको।
अहिले यो दर एकभन्दा बढी रहेको समाचारमा उल्लेख छ।
शनिबार हजारौंको संख्यामा मानिसहरु भेला भएर लकडाउन सधैंका लागि अन्त्य गर्न माग गरेका थिए। जर्मन चान्सलर एंगेला मर्केलले बुधबार १६ राज्यका नेताहरुसँग कुराकानी गर्दै देशव्यापी लकडाउनमा व्यापक छुट दिने घोषणा गरेकी थिइन्।