ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु ‘सेल्फ आइसोलेशन’मा

बिएल संवाददाता

न्युयाेर्क

ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु सेल्फ आइसोलेशनमा गएका छन्।

संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएकाले आफूहरुमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा डा. एन्थोनी फाउचीसहितका तीन अधिकारी दुई हप्ताका लागि सेल्फ आइसोलेशनमा गएका हुन्।

आइसोलेशनमा बस्नेमा डा. फाउचीसहित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का निर्देशक डा. रोबर्ट रेडफिल्ड र फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) का आयुक्त स्टिफन हान रहेका छन्।

तर नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजले डा. फाउचीमा काेराेना संक्रमण भएको हुन सम्भावना भने न्यून रहेको बताएको छ।

सुरुवाति परीक्षणमा फाउचीमा संक्रमण देखिएको छैन। ७९ वर्षका फाउचीले दुई हप्ते आइसोलेशनको क्रममा घरबाटै काम गर्ने छन् र नियमित रुपमा उनको परीक्षण हुने छ।

गएको शुक्रबार उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। उनी ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन्। डा. फाउचीसहितले टोली संक्रमितको सम्पर्कमा आएकाले आफूलाई आइसोलेशनमा राखे पनि उपराष्ट्रपति पेन्स भने आइसोलेशनमा बसेका छैनन्।

तीनैजनामा हाल संक्रमण देखिएको छैन र स्वास्थ्य अवस्था पनि राम्रो रहेको छ। तीनैजनाले मंगलबार सिनेटको कमिटिलाई सम्बोधन गर्ने तयारी छ।

ट्रम्पको सुरक्षामा खटिने एक सुरक्षाकर्मीमा पनि गएको बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ७९ हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या १३ लाख २९ हजार भन्दा बढी पुगेको छ।

प्रकाशित मिति: : 2020-05-11 06:51:19

प्रतिकृया दिनुहोस्