हाम्रो सीमा मिचिँदा, आफ्नै भूमि अर्काको नक्सा र नियन्त्रणमा रहँदा कुन नेपालीको रगत उम्लदैन र? मौसम पनि गरमागरम राजनीतिमा विस्तारै गरम र राष्ट्रिय भावमा एकाएक ‘हाइफिवर’ देखिएको छ।
कोरोना भाइरसको अट्याक पनि सुस्तरी भित्रिएको छ। हर नेपालीले आफ्नो मुटु चोइटिएको र शीरमा बज्र परेको अनुभूति गरेका छन्। देशको भूभाग भारतीय आधिकारिक नक्शामा समेटिँदा नेपाली छाति चरक्क चर्किएको छ, रगत उम्लिएको छ।
त्यसैले गोर्खे गर्जन निस्कन्छ, ‘हाम्रो भूमिको एक मुठी माटो पनि चोर्न दिँदैनौ। दुर्भाग्य हामी सपनाबाट ब्युझिएका छौं कि, विपनामा बुझ्न गाह्रो भएको छ। वर्षौअघि शुरू भएको सडक निर्माण अभियान समाप्त भएर उद्घाटन भएपछि मात्र थाहा पाउने हाम्रो निन्द्रा कति गहिरो र कति लामो रहेछ।
किन चीर निन्द्रामा सुत्यौं हामी यतिन्जेल समीक्षा सबैले गर्नु पर्दैन र? हाम्रो राष्ट्रवाद चीर निन्द्रामा परेर चीरहरण भएको हो कि? तर्क, प्रमाण र कारण भारतका पनि छन् कि? कुटनीतिक संवाद र प्रधानमन्त्रीस्तरमा राजनीतिक संवाद अत्यन्त जरूरि देखिन्छ।
गत फागुनमा मात्र लिपुलेक निरीक्षण गर्न गएको रक्षामन्त्रीको टोलीले त्यतिबेला यो सडक निर्माण हुँदै गरेको देखेन? हाम्रो सीमा मिचिएको हाम्रो भूमिमा भारतीयको परेड के आजको मात्रै समस्या हो? के त्यहाँ दार्चुलामा प्रहरी, प्रशासन, नेपाली राजनीतिक दल तिनका प्रतिनिधि र राज्यको उपस्थिति लिपुलेक, कालापानी र लिम्पियाधुरा आसपासमा थिएनन्? कि बोर्डर शील गरेर पर्दा हालेर निर्माण कार्य गरियो? वहश आजको मात्रै हो? रातारात राष्ट्रवादी कहलिन बिरोधको वक्तब्यबाजी गर्ने सरकार अनि अरू पार्टी र देशभक्त नागरिकहरू कहाँ र कुन लोकमा थिए? कुन दुलोमा पसेका थिए?
मुसोलिनी भन्थे रे, ‘साना र निर्वल राष्ट्रलाई यो संसारमा रहने कुनै अधिकार छैन।’ सानो भौगोलिक सीमा र करिब करिब तीन करोड मात्रै जनसंख्या बोकेर विश्व मानचित्रमा आफ्नो उपस्थिति र अस्तित्व देखाउनु हाम्रो लागि पक्कै निर्वल हुनुको प्रमाण होइन होला। बलशाली देशले निर्वल र सानो राष्ट्रलाई जे सुकै गर्ने छुट आधुनिक कानुन र सभ्यताले ठिक मान्दैन। विशाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीनको बीचमा आफ्नो अस्तित्व जोगाउन नेपाललाई मुसोलिनीले भने झैँ भएको भान बारम्बार भएको छ। सानो हुनु निर्वल हुनु हाम्रो कमजोरी यसर्थ पनि होइन कि, संसारमा नेपालभन्दा साना, भौगोलिक सीमा भएका अरू थुप्रै राष्ट्र छन्।
राष्ट्र र राष्ट्रियता, स्वाभिमान र सम्मान सानो ठूलो भूगोल र सीमाको आधारमा मापन गरिन्न। राष्ट्र सानो, ठूलो छ, हुनसक्छ तर सार्वभौमसत्ता सानो ठूलो हुँदैन स्वाभिमानको उचाई कम, बेसी हुँदैन। सानो भूमि भएकै कारण छिमेकीबाट हेपिनु, चेपिनु र छोपिनुपर्ने नियति कुनै पनि सार्वभौम मुलुकका लागि सह्य विषय होइन र छैन पनि।
हामी सुगौली सन्धी १८१६ देखि जुन सीमामा रहन बाध्य छौं अब त्यो भन्दा वर आएर बाँकी भूगोल मिचाउने कुनै रहर र सौख छैन। तर पनि बेला बेला हाम्रा सीमाहरू रातारात मिचिन्छन् जंगे पिलरहरू उखेलेर गायब पारिन्छ्न् र नेपाली सीमा खुम्च्याउँन छिमेकी साँघुरो छाति लिएर प्रस्तुत हुन्छ। यतिबेला पनि भारतले हाम्रो भूमि आफ्नो नक्सामा राखेर हामीमाथि विस्तारवादी चरित्र मात्र प्रदर्शन गरेको छैन, सडक निर्माण गरेर हाम्रो अस्मितामाथि बलात्कार गरेको छ।
विगतदेखि नै भारतले हाम्रो भूमि र हाम्रो अस्मितामाथि बारम्बार गिद्दे नजर लगाएर दाह्रा, नंग्रा धसेको नमिठो अनुभव र अनुभूति छ। विशाल छिमेकी राष्ट्र भारतसँग हाम्रो २६ जिल्लामा साँध सीमा जोडिएको छ। जसमध्ये तीन जिल्लाहरू धनुषा, बैतडी र डडेल्धुराबाहेक अन्यत्र धेरथोर सीमा विवाद छ, भारतले सीमा मिचेको कुरा सिमाविद र अरू अन्वेषकहरू अनि सीमामा बसेर भारतीय ज्यादतीको शिकार बन्ने सीमारक्षक नेपाली बताउँछन्।
सीमा कहाँ कति मिचियो कहिदेखि मिचिन पुग्यो त्यो मेरो आलेखको खोज होइन। तर किन सधैं हाम्रो सीमा मिचिन्छन्? हाम्रा कमजोरी, बाध्यता र भारतको हामीलाई हेर्ने नजरबारे सानो र भावनात्मक समीक्षा मात्र हो।
‘भारतले हामीलाई मित्रको रूपमा भन्दा ठूलो दाइको हैकमी सान देखाउँछ’ भन्ने अनुभूति धेरै नेपाली समकक्षी नेताले बेलाबखत बोलेको लेखेको तीतो सत्य हो।
आजको एक्काईसौं शताब्दीमा पनि हामीलाई हेर्ने नजर र गर्ने ब्यवहारमा भारतले बदलाव ल्याएको छैन जसको ताजा उदाहरण हो, भूकम्प, बाढी पहिरोलगायत दैवी र प्राकृतिक प्रकोपले थिलथिलो भएको बेला पनि नाकाबन्दीको घोर अमानवीय उपहार दियो। सबैभन्दा नजिकको छिमेकी दुःखमा सबैभन्दा पहिले हार गुहार माग्नुपर्ने छिमेकी मौकामा हामीमाथि निर्लज्ज हमला गर्न तयार हुन्छ र भरअभर दुःख दिईरहन्छ।
आज पनि कोरोना कस्टमा विश्व दुःखेको बेला उसले हाम्रो भूमि मिचेर खनेको सडक सुभारम्भ गर्ने मौका छोप्यो। मुटुमा किला ठोकेपछि नदुख्ने र नरूने कुन आत्मा होला र हामीलाई पनि छिमेकीले गर्ने दुर्व्यवहार सम्झँदा मुसोलीनिले भनेको सम्झना हुन्छ। कमजोर र निर्वलहरूलाई यो संसारमा रहने हक छैन अनि मोदीको अनुहारमा मुसोलिनीको प्रतिबिम्ब झल्किन्छ।
सीमाविदहरू भन्छन् अहिले नयाँ चोट लागेको होइन पुरानै घाउ बल्झेको हो। घाउ हाम्रा तर्फबाट बल्झाइएको होइन, भारतीयले फेरि नुनचुक छरिदिएका हुन्। घाउ बल्झाएका हुन्। घाउ बल्झाउनुमा हाम्रो कमजोर कुटनीतिक क्षमता र हीनताबोधले काम गरेको छ। आम नेपालीले पाएको आभाष पनि यही हो।
नेपाल-भारत लामो खुला सीमा हुनुको बेफाइदा भारतलाई पनि पक्कै छ। यदाकदा उसलाई पनि अप्ठ्यारो परेको हुनुपर्छ तर अप्ठ्यारो सुल्झाउने कुटनीतिक मर्यादा, कौशलता र सम भावले हो अनादर, अत्याचार र दुराग्रह राखेर बलमिच्याई गरेर होइन। भारत जस्तो विश्वकै ठूलो प्रजातान्त्रिक मुलुकले कसैलाई पनि त्यस्तो गर्न सुहाउँदैन, झन नेपाल जस्तो भौगोलिक आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धको अवैध जालोमा सन्निकट छिमेकीलाई नराम्रो गर्न, हेला होचो गर्न नमिल्नु पर्ने हो अनैतिक देखिनु पर्ने हो? तर पनि किन संकुचित छाति लिएर नेपालीको मन दुखाउन उद्यत हुन्छ भारत? कतै हाम्रा कमजोरीमा उसले खेल्ने मौका पाएको त छैन?
उसको क्रिडास्थल बनाएर उसले गर्ने हर हस्तक्षेप हाम्रा कारणले निम्तिएको त होइन, छातिमा हात राखेर नेपाली राजनीतिक पार्टी र नेताले सोच्न जरूरि छ। छिमेकी हो उसको सर सहयोग, लेनादेना हाम्रो लागि चल्छ, चल्नुपर्छ तर सहयोग लिने नाउमा हामीले जे पनि, जोसँग पनि हात थापेर हामीलाई मगन्ते बनाएको कारण हाम्रो स्वाभिमान कतै कमजोर भयो कि?
सत्तामा बस्दा र सत्ता बाहिर बस्दा भारतलाई हेर्ने दृष्टिकोणमा हामीले अन्तर राख्यौं कि? भाइ भाइको अंश लेनदेन, थोरै मन मुटाव र असहमतिमा पनि भारतको निर्देशन, अग्रसरता र हस्तक्षेप हाम्रा लागि स्वीकार्य किन बन्यो? पञ्चायत जोगाउन आफूलाई भारतको सहयोग चाहिने हुनाले भारत नचिढ्याउन राजा महेन्द्रले कालापानीमा भारतीय सेनाको बसाइलाई आँखा चिम्लेको तथ्य पनि इतिहासकारले सार्वजनिक गरेका छन्।
सहयोगमा एउटा स्कुल भवन, गाउँमा एउटा एम्बुलेन्स उद्घाटन गराउन हाम्रा प्रधानमन्त्री, मन्त्रीहरू राजदूतको पछि लागेर देश दौडाहमा निस्कँदा कति उचित, कति अनुचित पदीय मर्यादाक्रमको हेक्का राखियो राखिएन? केही थान छात्रवृत्तिको लागि हाम्रा नेताको लोभ र मोहले हाम्रो बास्तविक हैसियत कँहाबाट कँहा पुग्यो यतातिर पनि ध्यान जानु आवश्यक होला।
सांसद, मन्त्री, प्रधानमन्त्री बन्न लैनचौरमुकाम बनाउने र राजनीतिमा आशिर्वाद लिन आज पनि काँसी र गया ठान्दै दिल्लीमा पुग्ने चलनले हाम्रो स्थान निर्धारण गर्दैन र? कुटनीति र राजनीतिमा देखाउनुपर्ने परिपक्वता कौशलता र बुद्दिमताको अभावमा आज पनि ठाडो शीर गरेर हामीलाई परेको मर्का भन्न सक्ने स्थिति नेताहरुमा छन् कि छैनन्?
लिपुलेक सन्दर्भमा चीनले पनि हाम्रो भूमिका र अस्तित्व अस्वीकार गर्यो। चाइनिज राजदूत अहिले भारतीय राजदूतलाई उछिन्दै पार्टीको आन्तरिक मामलामा खेल्ने, सरकार गिराउने र टिकाउने भूमिकामा देखिएकी छन् जुन हामीले स्वीकार गरेको हस्तक्षेप हो। राजदूतहरुलाई उनीहरुको स्थान र मर्यादाभन्दा बढी खेल्ने र चलायमान बन्न दिने हाम्रो प्रवृतिले पनि हामी हाम्रो स्वाधिनता गुमाउँदैछौं।
भारत र चीन तिर अनावश्यक ढल्कने, झुक्ने आशिर्वाद थाप्ने र आश्रित बन्ने पार्टीको नीति र नियतको कारण राजदूतहरू हाम्रा सल्लाहकार र तथास्तु बरदान दिने देवता भएका छन्। भारतलाई हेर्ने दृष्टिकोणमा आइरहने परिवर्तन, फेरिरहने बोली, सत्तामा पुग्ने आशा र सत्ताबाट निकालिने भयको मनोविज्ञान रहुन्जेल हामी खुलस्त आफ्ना कुरा राख्न सक्दैनौं।
हामीलाई कालापानी दुखेको, सुस्ताले पिरोलेको तिलाठीले चहर्याएको आज मात्रै होइन वर्षौं पुरानो घाउ हो, जुन बल्झिरह्न्छ। सत्ताको फेरबदलसँगै अल्झिरहन्छ। कोफी अन्नान संयुक्त राष्ट्र संघको महासचिव हुँदा कालापानीमा भारतले गरेको ज्यादतीबारे गुहार्ने तत्कालिन नौ बाम समूहका नेतामध्ये अमिक शेरचन आज पनि नेकपाको नेता र प्रदेश प्रमुख छन्। त्यतिबेला संयुक्त राष्ट्रसंघले ‘सरकार मार्फत कुरा लिएर आउ समस्या सामाधान हामी गरिदिन्छौं’ भनेको कुरा आज सत्तासिन हुँदा सम्झिए कति जाति हुन्थ्यो।
सन् १९५० को नेपाल-भारत सन्धी त्यसमा रहेका कतिपय असमान प्रावधान हटाउन आज सरकारलाई रोक्ने छेक्ने कोही छैन। सत्तामा नरहँदा आकर्षक लाग्ने र धेरै चलेको नारा ‘१९५० को सन्धी खारेजी’ आज सत्ता आफ्नै हातमा हुँदा बामपन्थीको प्रिय रोजाइमा नपर्नुपर्ने दृश्य अदृश्य कारण के होला? हो हामी जसले जति भने पनि सुरूङ युद्वको धमास दिएर खाल्डो खनाए पनि विस्तारवादीलाई खुकुरीमा रगत नै नलाई च्वाट्ट छिनाउने भनेर कालापानीमा परेड खेले पनि हामी भौतिक रूपमा लड्न सक्तैनौ, लड्छौ भन्नु भावनात्मक कुरा र राजनीतिमा देशभक्त देखिन चलाउने राजनीतिको व्यापार र नारा हो।
सिधै भन्नुपर्छ कुस्ती खेलेर जितिन्नँ। तर, कुस्ती भौतिक होइन बौद्धिक र कुटनीतिक खेल्नु जरूरी हुन्छ, अपरिहार्य छ। परिपक्व, शसक्त, तार्किक धारिलो अनि तेजिलो बौद्धिक हतियारले कुटनीतिक लडाईँ लड्नुपर्छ। आलोकाँचो, अल्लारे र छुद्र आवेगले कुटनीति चल्दैन। कुटनीति भेनेजुएला काण्ड जस्तो पनि हुनुहुँदैन। न निम्छरो भएर चल्छ कुटनीति न छुद्र भएर नै? कुटनीतिमा भद्रताले यथार्थलाई मुखरित गर्ने सामर्थ्यको खोज गर्छ। राष्ट्रियता मुटुमा हुनुपर्छ, ओठमा झिल्के राष्ट्रवाद बोकेर भित्र भित्र लम्पसार पर्ने प्रवृति घातक र प्रत्युत्पादक सिद्द भएको तथ्य हेर्न टाढा जानु पर्दैन।
आज एकाएक निस्केका विरोधका वक्तव्यवाजी र तिनका अनुहार हेर्दा हुन्छ। छिमेकीप्रति हामी कहिल्यै असहिष्णु र बदला लिने मनशाय राख्दैनौं, दिल्लीमा आतंकारी हमला हुँदा होस् या मुम्बई आक्रमण, पाकिस्थानसँगको तनाव होस् या कश्मिर दुखोस् हामीले कहिल्यै ठिक्क पर्यो भनेका छैनौं, हामी तपाईँहरूको सुरक्षा संवेदनशीलता पनि बुझ्छौ हाम्रो राष्ट्रिय अस्मितामा आँखा नलगाउनु होला भनेर कुटनीतिको टेवलमा बसेर सम्झाउनुपर्छ।
हस्तक्षेप र सीमा मिचेको बारे देशले एक ढिक्का भएर आफ्नो बिरोध र असहमति सडकमा प्रदर्शन गर्नुपर्छ ताकि हस्तक्षेप विरूद्ध नेपालीहरू एक छन् भन्ने सन्देश प्रवाहित होस्। दवाब सिर्जना गरोस्। पार्टीहरु छिन्नभिन्न भएर कसैलाई राष्ट्रवाद देखाउन सडकमा निस्कनु परेको छ, कसैलाई यसो बोलेर औपचारिकता दिनु मात्रै छ, विरोध गर्दा भारत रिसाउने पो हो कि भन्ने हीनताबोधले ग्रस्त छन् कतिपय पार्टी र नेता।
आ-आफ्नै डम्फु ठोकेर आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने ठिटलाग्दो बाध्यता छ। देश दुख्दा तमाम आफ्ना आन्तरिक असहमति र राजनीति छोडेर सबै एकै मुख, एकै मञ्चबाट प्रतिरोध गर्नुपर्ने होइन र? देशको ध्यान खिचिएको कुरा देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई दख्खल पुग्ने कुरामा सरकारको अग्रसरतामा सर्वदलीय बैठक हुनुपर्ने हो। देशबिरूद्ध हुने गतिबिधि विरुद्द एक स्वरले प्रतिरोध गर्न सरकारको पहलकदमी देख्न सकिएको छैन। अझ ढिलो भयो भने हामी आफ्ना कारणले पनि हेपिएका छौं भन्ने पुष्टि हुन्छ।
यतिबेला आ-आफ्नो पार्टीको झण्डा बोकेर निस्कनुभन्दा सबै देशको झण्डा बोकेर राष्ट्रियताको पक्षमा हातेमालो गर्नुमा ऊर्जा र तागत देखिन्छ। म त भन्छु राष्ट्रियताको सवालमा पूर्व राजा ज्ञानेन्द्रलाई पनि सँगै हिडाउँदा कूटनीतिमा बार्गेनिङ पावर बढ्छ।
भारतलाई सचेततापूर्वक सालिन प्रतिरोध देखाउनु कुटनीतिक पहल सहयोगी हुन्छ। मोही माग्ने ढुङ्ग्रो लुकाउने किन गर्नू, कुटनीतिको टेवलमा आजसम्म जहाँ जहाँ समस्या छ त्यो सबै निसंकोच बताउनुपर्छ, हराएका जंगे पिलर, मिचिएका सीमालाई पुनः ब्यवस्थित गर्न लाग्नुपर्छ। सन्धी सम्झौता खारेज गर्न, पुनरावलोकन गर्न सबै तयारी गर्नु र त्यसको लागि लविङ गर्न देशका अनुभवी कुटनीतिक व्यक्तित्व, प्रतिभाशाली कुटनीतिक शिक्षार्थी, सीमाका अध्येता, प्राविधिक ज्ञानले खारिएका प्राविधिक, इतिहास र दस्तावेजको विश्लेषण गर्ने विज्ञ राजनीतिक व्यक्तित्वहरु सबैलाई म्यान्डेट दिएर देशको पक्षमा प्रयोग गर्नुपर्छ। सीमा विवादमा नेता स्वार्थबस् विभाजित होलान्, तर जनता विभाजित छैनन् र हुदैनन्।
त्रि-देशीय नाकामा भारत र चीन बीच सन् २०१५ मा सम्झौता हुँदा नेपाललाई नसोधिएको विषयमा पनि नेपालले चीन र भारतको संयुक्त उपस्थितिमा आफ्नो दावी र आफूलाई बेवास्ता गरेर सन्धी सम्झौता गर्नुको कारण सोध्नुपर्छ।
प्रधानमन्त्रीले चीन भ्रमण गर्दा यो विषय उठाउन किन सक्नुभएन? त्री-देशीय सीमामा आवश्यकताको सिद्धान्त आधारमा त्री-पक्षीय नै सन्धी र सम्झौता हुनुपर्छ न कि, दुई पक्षीय? त्रिदेशीय सीमामा सम्झौता हुँदा भारतको विरोध गर्दा चीनको विरोध हामीले किन गर्न सकेनौं? के यो सोचनीय विषय होइन र?
नेपाली भूमी भारतीय नक्शामा राखेकोबारे केही महिना अघि प्रधानमन्त्रीले दिएको प्रतिक्रिया अब समिक्षा गरिनुपर्छ। प्रधानमन्त्रीले भन्नु भएको थियो। ‘नक्शा बनाएका हुन् माटो उठाएर लगेका छैनन्। त्यो लान दिन्नँ।’ अब फिर्ता ल्याउने जिम्मा पनि प्रधानमन्त्री कै हैन र?
भारतले बनाएको सडकबारे प्रश्न उठाउनुपर्छ। गम्भीर र शालीन प्रतिवाद गर्नुपर्छ। त्री-देशीय सीमामा हामीलाई गरिएको बेखबर र बेवास्ता बारेमा भारत र चीनसँग आफ्नो हक खोज्नुपर्छ। कालापानीहुँदै लिपुलेक नाकाबाट प्रायः सबै मौसममा तिब्बततर्फ आउजाउ गर्न सकिन्छ। कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको लागि सबैभन्दा नजिकको बाटो, चीन र भारतको राजधानी दिल्लीलाई जोड्ने सबभन्दा छोटो दुरीको नाका पनि यही हो।
सबैखाले धार्मिक, ब्यापारिक र सामरिक महत्व भएको क्षेत्र भएकोले भारत कालापानी छोड्न चाहँदैन भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग छ। तर उसको चाहना जे भए पनि त्यो नेपालको भूमि हो। नेपाल भारतको सीमा हो। तर एकलौटी उपभोग भारत र चीन दुवैले गर्न पाउँदैनन्। हामीले हाम्रो कुटनीतिक कौशलता देखाउनुपर्छ। दुवै छिमेकीलाई भन्नुपर्छ नुन तेलमा हाम्रो माटो साट्न सकिँदैन। नेपालीलाई नेपाल भन्दा अर्को स्वर्ग छैन।
देशको एक चिम्टी माटो पनि पराइले आफ्नो भनेको सहिन्न। चोरेको सह्य र निको लाग्दैन। आगो सहन तयार नेपाली अन्याय सहन मन्जुरी गर्दैनन्। सस्तो लोकप्रियताको लागि बोलिने जलप लागेको झिल्के र कस्मेटिकयुक्त राष्ट्रवाद भन्दा असली र ओरिजिनल राष्ट्रवाद नेपाल र नेपालीले आज संयमताका साथ उजागर गर्नुपरेको छ। हामी सकिन्छ संवाद गरौं। संयुक्त राष्ट्रसंघमा जाउ, अन्तर्राष्ट्रियकरण गरौं। अन्यथा छिमेकीसँग बाँकी भूमि जोगाउने राष्ट्रको माटो अरू क्षति हुन् नदिन, सीमांकन गर्ने र तारबार गर्ने, पिल्लर गाड्ने काम गरौं।
भारतले रातारात, अकस्मात ८० किमी सडक बनाएको होइन। तसर्थ मौसमी र कर्मकाण्डी बिरोधमा कुनै तुक र दम छैन। दोषी सबै निर्दोषी कोही छैनौं। चोखो नभए पछि आत्ममन्थन गरौं। दोषको कालो टिको प्राय सबै सत्ताधारीको निधारमा छ। बौद्धिक र प्राज्ञिक वर्गको मौनता र खबरदारी गर्न नसक्ने लाछीपन पनि दोषको भागीदार हो।
कसैले कसैलाई गालीगलौज गरेर आरोप प्रत्यारोप गरेर राष्ट्रिय एकता बलियो हुँदैन। आगामी दिन र समयमा कहिल्यै विवाद नहुने गरि सामधानको पहल गरौं। हिजो मस्त सुतेर, दूतावासको मोही खाएर आज हत्तपत्त नारी सुर्केको अभिनय केवल पब्लिक खपतको लागि मात्रै हो, माटोको लागि होइन र देखिएन।
देश जोगाउने ठेक्काको हिस्सेदार आम नेपाली भएको तथ्य नबिर्सौ। सरकार कस्तो बन्यो, कस्तो बनायौं त्यो हाम्रो अभिमत हो। तसर्थ आफूले चुनेका प्रतिनिधिको असफलता र राष्ट्रघातमा हाम्रो भूमिका र सहयोगी हात पर्दा अघि हुन् या पछि, अवश्य छन्। विगतको चेतनाले होइन आजको चेतनाले आज हेरेर बोलौं/लेखौं।
बनावटी र देखावटी संयोगहरू फगत संयोग मात्रै होइनन् ती अनिष्टका संकेत र लक्षणहरू पनि हुन्। आफ्नो भूमि मिचिएको विदेशी सञ्चार माध्यमबाट थाहा पाउने सरकार पार्टी र नेताहरू अनि जनता भएको गज्जब मुलुकका नागरिक हौ हामी।