लिपुलेकमा सडक निर्माण तत्काल रोक्न भारतलाई नेकपाकाे आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लिपुलेकमा सडक निर्माण तत्काल रोक्न भारतलाई आग्रह गरेको छ।

भारतले एकतर्फी रुपमा सुरु गरेको सडक निर्माण कार्य दुई देशका सरकारले उच्च तहमा गरेको उच्चस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति विपरित रहेको नेकपाले बताएको छ। 

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा शनिबार जारी गरिएको विज्ञप्तिमा भारतको यो कार्यले नेपालको सार्वभौमिकतालाई कमजोर पार्न खाेजिएकाे जनाइएकाे छ।

सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। ‘यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्‍याउँदै आएको छ र पछिल्लो पटक नयाँ राजनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कुटनीतिक नोटमार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,’ विज्ञप्तिमा भनिएको छ। 

दुई देशवीचको सीमा समस्या समाधानका लागि दुई देशका सरकारवीच भइरहेका प्रयासलाई नेकपाले समर्थन गर्ने बताउँदै यो ससस्या समाधानका लागि दुबै देशका सरकारहरुले तत्काल पहल थाल्नुपर्ने नेकपाले बताएको छ ।

प्रकाशित मिति: : 2020-05-09 22:51:54

प्रतिकृया दिनुहोस्