नेपाल एकीकरणमा हिमाल,पहाड र तराईका सबै समुदायको योगदान: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको एकीकरणमा हिमाल पहाड र तराईका सबै वर्ग तथा समुदायको बराबर योगदान रहेको बताएका छन्। 

बाराको जितपुरमा रहेको नेपाली सेनाको श्री नम्बर २८ बाहिनी अड्डामा शनिबार एकीकरण स्मृति उधानको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन्।

उनले नेपाली सेनाको इतिहास प्रबद्र्धनमा सहयोग पुर्‍याउँदै राष्ट्रिय एकतामा टेवा पुर्‍याउन तथा नेपालको एकीकरण अभियानमा मधेसबासी नेपालीहरुको योगदान झल्काउने गरि पार्क निर्माण गर्न लागिएकोमा  आभार व्यक्त गरे।

‘पहाड र मधेश अन्तर्गत रहेका हरेक समुदायको योगदान र भूमिका रहेकाले यो पार्कले आफैमा इतिहास बोकेका छ,’ मुख्यमन्त्रि राउतले भने,‘नेपालको एकीकरणमा मधेशको पनि भूमिका रहेको कुरा यस पार्कले उजागर गर्ने भएकाले यो काम स्वागत योग्य छ।’

उनले पार्कको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

२२ करोडको लागतमा नेपाली सेनाद्वारा २ विगाहा २ कठ्ठा २ धुर क्षेत्रमा निर्माण गर्न लागिएको ऐतिहासिक पार्कका लागि चालु आर्थिक बर्षमा ७ करोड रुपैयाँ बजेट विनियोजन भई सकेको छ।  जसमध्ये ५ करोड नेपाली सेनाको र २ करोड प्रदेश सरकारको रहेको श्री नम्बर २८ बाहिनी अड्डा जितपुरका बाहिनीपति एवं सहायक रथी अनुप जंग थापाले जानकारी दिए। 

पार्कमा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका ऐतिहासिक वस्तुहरुको संग्रालय सहितको प्रदर्शनी हल समेत निर्माण गर्न लागिएको जानकारी दिए।

शिलान्यास कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, प्रदेश नम्बर २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल लगायतको सहभागी  रहेको थियो।

उनीहरुले कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गर्दै सामाजिक दुरी कायम रेका थिए। 

प्रकाशित मिति: : 2020-05-09 19:37:17

प्रतिकृया दिनुहोस्