एक टुक्रा उज्यालो

कथा

विनता भट्टराई

(म्यान्मार, हाल- थाइल्यान्ड)

‘सीमा, ए... सीमा...,’ घर बाहिरबाट कसैले बोलायो। बोली ठम्याउन निकै गाह्रो भो...। झमक्क साँझ परेकाले मान्छे पनि चिनिनँ। कता–कता आफ्नैले बोलाए झैँ लाग्यो। आँगनमा फुत्त निस्किएँ। देख्ने बित्तिकै अलमल्ल परेँ, आव्वी त... उनै मेरी पुरानी हितैषी पेमा पो रहिछिन्।

वषौंपछि भेट्दा अचम्म लाग्यो। गर्ल्याम्म अंगालो हालेँ। पेमाको शरीरभरि हिलो मैलो  टाँसिएको थियो। साथमा १० वर्षे छोरो (तीले) पनि रहेछ। (झट्पट्) भित्रै जाउँ भनिहालेँ।

अँगेनाको डिलमा बसी बाल्यकालको सम्झनासँगै जिन्दगीका सबै वृतान्त सोधेँ। विचरी... पेमा थापा! अक्मकाउँदै सुनाइन्, कतिपय भाग्यका कथा। रूँदारूँदै स्वर पनि भासिइसकेछ। अघिल्लो साता भामु शहरमा आएको उलाउले निकै मानिसलाई क्षति पुर्‍याएछ। उनको त घरजग्गा सबै बाढीले बगाएछ। सहारा खोज्दै पो... सोध्दै, खोज्दै म कहाँ आएकी रहिछन्।

उनको आलो घाउमा मेरो सोधाइले झन् ऐया बनाइदियो। म पनि एकछिन अंगालो मारेर रोएँ। उनको ब्यथामा केही आँसुका डल्ला बगे पनि, पीडा त बगेनन् नि...। म राम्रोसँग बुझ्न सक्थेँ, उनका दुःख, वेदना तीले प्रतिको चिन्ता। बेला–बेला भन्थिन् – ‘अब... तीले पनि जवान हुन थाल्यो, यसले केही त गर्ला नि,’ अँ... हो, नि। मेरो योभन्दा अर्को वाक्य फुट्दैन्थ्यो।

‘पेमा अब सँगै बस्नुपर्छ है,’ मैले सल्लाह दिएँ। आखिर दुःखीको मन, दुःखीले नै बुझ्छ। साँझको भात खाएपछि दुई दुःखीका गन्थन सुरू भयो। लगभग १८ वर्षपछिको भेटमा बितेका दिनचर्या एक एक गर्दै उदार्दै लग्यौं। ‘गाँसे–गाँसे एकैनासे’ भने झै परिस्थिति सबै मिल्यो। मलाई कुनै धनीजनको बराबरी हुनु छैन। मेरो अगाडि धनवानहरूको लाम कत्रो छ भनेर कहिल्यै नापिनँ। बरू मेरा पछि ताते गर्दै हिँडेका अनगिन्ति मानिसको मनोभावभित्र पसेर नियाल्ने गर्छु। उनीहरू हाँस्दा संसारै हाँसे जस्तो लाग्छ। उनीहरू रूँदा संसारै अन्धकारले छाएझैं भान हुन्छ। मान्छे धनवान हुनुमा कत्रो घमण्ड गर्छन्। तर, मलाई गरिब हुनुमा कत्ति पनि आपत्ति छैन।

गरिब मान्छेभित्र मानवताको अखण्ड दियो बलेको हुन्छ। जहाँबाट मान्छेले एकअर्काको आफ्नै दुखाइ, पोलाइको अनुभव उतार्नसक्छ। मैले जन्मजात पाएको रगतको नाता र दुःख, सुखमा सहभागी भएका आत्मीय नाताको गहिरो पहिचान  पाएकी छु। मलाई ‘रगतको नाता-नाता झैं लाग्दैन।’ हुनत म हुनेखाने परिवारकी छोरी र हुनेखाने परिवारकै बुहारी थिएँ। ‘माइती भन्नू आमाबुबा रहुन्जेल अरे!’ बुढापाकाले भनेको सुनेकी थिएँ। साँच्चै हो रहेछ।

मेरा बुबाआमा स्वर्गे भएदेखि म माइतीबाट धेरै टाढा भएकी छु। यता घरपट्टि पनि दुई गुणको परिवारको खिचातानीमा अल्झिन मन भएन। त्यसैले राधिका (छोरी) का बुबा र म बेलैमा परिवारदेखि छुट्टिएर आफ्नो रोजगारमा लागेका थियौं। बिहे भएको एक सालपछि राधिकाले हाम्रो जिन्दगीमा खुसीको मुहान लिएर आई। खुसी–खुसीमा दिन बित्तै गए।

दुःख, सुख एक मानो जुटाउन दुई जना लागिपर्थ्यौं। ‘हुनेहार दैव नटार’ भनेझैँ सानो परिवारलाई कर्मको खेलले विचलित गराईदियो। बिहान गाँस टिपेर गाईवस्तु चराउन हिँडेका राधिकाका बुबा घर फर्किएनन्। विद्रोहीले राखेको बम बिस्फोट परेर गाईवस्तुसँगै उनको पनि आत्माले शरीर छोडेछ।

गाउँबस्तीमा क्रान्तिकारीको रजाइँ चलिरहन्छ। गाउँलेहरूले  बेलैमा चन्दा नबुझाए यसरी नै ठाउँ–ठाउँमा बम गाडेर गाउँलेको विनास गर्छन्। राधिकाका बुबा वितेपछि घरमा आमाछोरी मात्र रह्यौं। निजी काम भनेको धान, गहुँ, मकै छर्ने, गाईवस्तु पाल्ने यही हो हाम्रो दैनिकी।

प्राय: नाउछो निवासी गाउँलेको मुटु हो–मकैबारी। हिउँदमा पानी नलाग्ने भएकाले मानिसहरू वर्षाको पर्खाइमा हुन्छन्। जब झरीको स्पर्शले माटो चिसाउँछ, तब आफ्ना जिन्दगीमा नयाँ–नयाँ पाना हराभरा पारिदिन्छ।

पेमा र म – पाहे गाउँको धुलोमा लडिबुडी खेल्दै हुर्केका हौं। विस्तारै–विस्तारै नियतीले हामी दुई बिच टाढा–टाढा बनाइदियो। लोखू रामेश्वर धामबाट पेमा र मेरो एउटै लगनमा बिहे भएको आजै जस्तै लाग्छ। छिमेकी भएर हुर्केका हामी दुई बिहेपछि छुटेका हौं। यत्रो वर्षसम्म आ–आफ्नै जीवनमा बाँचिरहेकी थियौं। भेट्ने अवसर नै मिलेन। तर, अहिले बल्ल भेट्न जुर्‍यो।

उनी पनि माइतीदेखि म जस्तै टाढिएकी रहिछन्। उनका पनि आफ्नै कथा होलान्। मलाई माइत जाने आँटै हुँदैन। बारम्बार सम्झन्छु। सुत्केरी खान जाँदा, भाउजुले गरेको छेडछाड। आखिर किन पो, बिर्सिन्थे र माइतीले गरेको त्यो अपमान।

घरमा राधिकाका बुबाले महिना दिनकी हुँदा आठ वटा भाले, पाँच बिसा घरैमा खारेको गाईको घिउ खुवाएर मोटी र दह्री भएकी म।  ‘दैलो भत्काएर ठूलो बनाउन पर्ने हो कि, आउनु अघि खबर दिनु है’ भनेर माइतबाट दाजु लिन आउँदा ठट्टासमेत गरेका हुन्। तर, दुर्भाग्यवश माइतीघरमा रमाउने पल खोसिएको थियो।

मेरा बाआमा छिट्टै स्वर्गे भएका थिए। सधैं भाउजूको कचकच मिसिएको बोलीले नै आधा जिउ खाइदियो। दाजुले खसी काटेर खुवाउने सल्लाह मागेझैँ छसक्क सुने थेँ। तर कुरो भित्रभित्रै हरायो। भाउजुले एकदिन आधा पावा मासु पकाएर झोल बनाई खुवाइन्।   

एक महिनापछि घर आएँ। मान्छे सिन्का भइसकेकी रहेछु। राधिकाका बुबा औधी रिसाए। उनले पहिल्यै भन्ने गर्थे, ‘तिम्रा दाजुको कमजोरी हो। भाउजु त अर्काकी छोरी हुन्। घरको परिवेश र पाहुना पाछाको ख्याल गर्न दाजुले सिकाउनु पर्ने हो।’ के गर्नु, माइतीले बोलाएपछि नगई पनि नहुने! गएपछि उनीहरूको मन बुझाउन साह्रै गाह्रो छ। देखासिकीमा मौकाले भ्याएसम्म यति लामो ताना मार्छन्। माजनको खोक्रो स्वाङ देखेर दिक्क लाग्छ।

राधिकाको बुबा बितेको साल सम्झन्छु, ‘घरमा तातो छारो केही थिएन। रासन सबै गाउँवालाले भरिदिएका हुन्।’ खै! आजसम्म कसैले फूर्ति लाएर देखाएको छैन। गाउँमा ऐँचोपैँचो पनि सजिलो चल्छ हाम्रो।

राधिका त मावलीको कुरै सुन्नै मान्दिनँ। उनीहरूले तल्लो दर्जा दिई बोलेको कुरा मन पराउँदिन। मावली खलकसँग आक्कलझुक्कल भेट हुँदा चाँडो–चाँडो  मुन्टो लुकाउने गर्छे। उसका साथीले मावलीको र आफ्नो सम्बन्धको चियो गर्छन् कि भनेर सतर्क रहन्छे।

राधिकालाई पनि मावली चिनाउन धेरै लाज लाग्दोरहेछ। समाजमा हाम्रो पनि छुट्टै नाम छ। सबैको माया पाएका छौं। ऊ पनि हाम्रा आफ्ना यीनै हुन् भन्छे। कहिलेकाहीँ मावली आइपुगेछन् भने मीठो मसिनो तत्काल बनाएर खुवाउँछे। कुरा भने त्यति खुलेर गर्दिनँ। उनीहरू आफ्नै किसिमको डेढ अक्कल लगाउँदा हुन्।

पोहोर साल हिउँद लाग्दै थियो। अचानक माण्डलेबाट एउटा ठूलै खान्दानले राधिकाको बिहेबारे कुरो चलायो। १६ वर्ष मात्र टेकेकी मेरी छोरी समाजका अगाडि बिहे गर्ने भइसकिछे। दङ्गदास भएर सोच्न पुगेँ!

हुनत, म पनि यत्रै थिएँ, घरबार जोड्दा। राधिकाले नाता स्वीकारिनँ। ऊ भन्छे, ‘मलाई महाजन हुनुछैन। यदि म, कर्मघर पुगेँ भनेः तपाईँको  रेखदेख कसले गर्ला? मलाई बिहे गर्नुपर्छ भन्ने नै के छ?,’ बेलाबेलामा भन्छे,‘हजुरको साथी म र मेरो साथी हजुर। मेरो लालनपालन गरेर थाकेका हातगोडामा मल्हम लगाइदिन्छु। बुबा बीरबहादुर कटुवाल कस्ता थिए थाहा छैन। म ३ वर्ष हुँदा मेरो नाउँमा जम्मा यही थर (चिनो) छोडेका रहेछन्। अब यसलाई  बदल्नु छैन।’

प्रकाशित मिति: : 2020-05-09 19:21:13

प्रतिकृया दिनुहोस्