उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोना भाइरसको शंकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले १४३ जनाको आइसोलेशनमा उपचार भइरहेको बताए।
उनका अनुसार देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेका छन्।
यस्तै नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेको छ। प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको उनको भनाइ छ।
उनका अनुसार प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ। बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि देवकोटाले बताए।
हिजोमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत दीपा शाही ३५ दिनपछि डिस्चार्ज भएकी छन्। यसअघि उनको ६ वटा रिपोर्ट सकारात्मक आएको थियो।
गत बुधबार उनको सातौं चरणको स्वाब टेस्ट लिइएको थियो। उनी ३४ दिनपछि निकाे भएर घर फर्किन लागेकी हुन्। उनलाई दुबईबाट आएका देवर अमृत शाहीबाट सरेकाे थियाे। उनीमा चैत २२ मा संक्रमण देखिएकाे थियाे।
प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य तिव्र पारेको प्रवक्ता देवकोटाले बताएका छन्।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन्। अहिलेसम्म पीसीआर विधिबाट १६ हजार ३ सय ९ र आरडिटी विधिबाट ५५ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएको छ।
प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० र बागमती प्रदेशमा मा ९ हजार १ सय ५ जनाको आरडिटी परीक्षण भएको छ। यस्तै गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सूदुरपश्चिममा १४ हजार ६ सय ९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।