भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका नेकपा निकट विद्यार्थी पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

 लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले प्ले कार्डसहित शान्तिपूर्ण विरोधका लागि दूतावास अगाडि पुगेका थिए। 

पक्राउ पर्नेमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशाक थापा, मेघनाथ चापागाई, उत्तर थापा, हर्क बम, विज्ञान दाहाल, सुजन श्रेष्ठ, कैलाश घिमिरेसहित रहेका छन्।

अनेरास्ववियूका केन्द्रीय सचिव सुदेश पराजुलीले भने, ‘विरोधमा सामाजिक दूरी कायम गरी शान्तिपूर्ण सांकेतिक विरोधको तयारी गरिरहेका थियौँ। प्रहरीले पक्राउ गरेर हामीलाई महेन्द्र पुलिस क्लबमा ल्यायो।’

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत विवादित सडकको शुक्रबार उद्घाटन गरेका थिए। यसको नेपालमा चौतर्फी विरोध सुरु भएको छ। तर, सरकारले भने हालसम्म आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन। 

प्रकाशित मिति: : 2020-05-09 14:39:51

प्रतिकृया दिनुहोस्