सम्झनाहरू रहिरहन्छन्, हामी रहन्नौं
टेलिभिजन अगाडि चिच्याएँ, सिठ्ठी फुकेँ, बुरूक्क उफ्रेँ, बेस्सरी हल्ला गरेँ। यो हरकतले वरपर छेउछाउ सबैतिर हल्लाखल्ला भयो। म नेपाल र भारतबीच भइरहेको साग पुरूष फुटबलको फाइनल खेल हेर्दै थिएँ।
‘के भयो, सब बढिया त छ?,’ झ्यालबाट चिच्याउँदै छिमेकीले सोधे।
‘हाम्रो केटाहरूले ठोक्दै छन्,’ मैले जवाफ दिए।
‘लौ, कहाँ, कसले?,’ उनले आत्तिएर बुझ्न खोजे।
क्या मज्जा, आफूलाई दृश्य हेर्न हतार, कसले जवाफ दिईरहने, म बोल्दै बोलिनँ। बरू अनियन्त्रित भई उत्तेजित भईरहेँ।
‘होइन, कहाँ कसले, कसलाई कुटयो? बाहिर त सबै शान्त छ,’ छक्क पर्दै उनले फेरि प्रश्न गरे।
छिमेकीको प्रश्नलाई त्यतिकै वेवास्ता पनि गर्न सक्दिनथेँ। आखिर हल्ला पनि मैले नै गरेके थिएँ। यसर्थ झ्यालबाट टाउको बाहिर निकालेँ, ‘जसले हाम्रो ग्याँस, तेल, पेट्रोल, औषधिजस्ता धेरैकुराहरु रोकेको थियो नि, हो त्यहीँ गएर हाम्रा केटाहरूले ठोक्दै छन् के,’ यति भनेर, मैले कछुवाले झैँ टाउको भित्र छिराएँ। केही समय पहिला छिमेकी राष्ट्र भारतले नेपाललाई अघोषित रूपमा दुई महिना नाकाबन्दी गरेको थियो।
‘जित्नैपर्छ, खेल राम्रो छ। फेरि ठोक!,’ उसैगरी म चिच्याएँ।
‘होईन के भो यस्तो?,’ उनले कुरा पटक्कै बुझेनछन् क्यार। सबै झ्याल खोलेर मेरा छिमेकी एक्लै फत्फताउँदै थिए। अब त अति भो भनेर मैले पनि आधा शरीर बाहिर निकालेर बताउन थालेँ, ‘नेपाल र भारत बिच फुटबल खेलमा प्रतिश्पर्धा हुँदैछ। साग फुटबलको आज अन्तिम भिडन्त, अब त बुझ्नु भो?’
उनले लगाईरहेको रातो टोपी फुकालेर नजिकैको खाट माथि फाले, ज्याकेटको चेन खोले। अनि टेबलको कुनामा राखेको स्टीलको गिलास स्वाट्टै पारेर तालु खुईलिएको टाउको झ्यालबाट बाहिर निकालेर बोले, ‘कस्सम भाइ!, बहुत खुशी लाग्यो। तिनीहरूलाई ठोक्नैपर्छ।’
‘कस्तो हुँदैछ खेल, कति गोल ठोके?,’ उनको मुखबाट ह्वास्स लोकल रक्सीको गन्ध निस्क्यो। पुरै खुलेको झ्यालबाट उनलाई नियाले। आखिर छिमेकी जो थियो। मर्दा पर्दा काम आउने। हो आज हामी दुबै छिमेकी आमने सामने भएका थियौं। अन्यथा हाम्रो उत्तिसारो दोहोरो संवाद कहाँ पो हुन्यो र!?
कराहीमा उम्लिरहेको तिउनबाट माछाको मिठो बास्ना आईरहेको थियो। पानीका खाली बोतलहरू यत्रतत्र छरिएका, पोको पारेका बोराहरू, च्यातिएको एउटा सोफा, भित्तामा झुन्डिएको केही कपडाहरू, पानीले भरिएको रातो प्लास्टिकको बाल्टिन र त्यही रङ्गको खाली बाटा र अर्धनग्न एक तरूनी भित्तामा टाँसिएको, पुछारमा लेखिएको थियो, साप्ताहीक सुन्दरी। खुल्ला झ्यालबाट यी सबै दृश्यहरु नियाल्दै गर्दा उनको कोठामा टेलिभिजन देखिनँ।
‘अनि कति गोल ठोके त भाइ?’ उठेको भुडीमा हात मुसार्दै सोधे।
‘एक-एक गोल भएको छ दाइ, तर हाम्रा केटाहरूले राम्ररी खेलिरहेका छन्। अब केहि गर्छन् केटाहरूले!,’ मेरो जवाफ थियो।
उनले सोध्नुभन्दा केही पहिला मात्र नेपालले एक गोल गरेर खेल बराबरी पारेको थियो र फेरि टिभी अगाडि फर्केँ, झ्याल खुल्लै छाडेर। उनी आफ्नै सुरमा लागे। उनको झ्याल पनि खुल्लै थियो।
‘ठोक केटा हो! ठोक, तेईस वर्ष भो, यही हो मौका!,’ नेपालले पछिल्लो २३ वर्षबाट कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थिएन। बल उनीहरूकै डी एरियामा नै घुमाएको देखेर कराएँ। हाम्रा केटाहरूले फनफनी घुमाउँदै थिए, विपक्षि खेलाडीलाई गत वैशाखको महाभूकम्पले हामीलाई घुमाए जस्तै।
‘होइन फेरि ठोके र?,’ झ्याल नजिक उभिएर छिमेकी फेरि कराए।
‘भएन दाइ, तर ठोक्ला जस्तो छ,’ मैले सोफामै बसी बसी जवाफ फर्काएँ।
विपक्षीको पहिलो गोल रेफ्रीको गल्तीबाट भएको भन्ने मैदानमा खेलिरहेको हाम्रा केटाको झैं मेरो पनि निष्कर्ष थियो। उक्त गोल रेफ्रीको गलत निर्णयको कारण भएको हुँदा हाम्रा खेलाडीहरुले कडा विरोध गरेका थिए, मैदानमा। यसर्थ हाम्रा केटाहरू अझ तातेका थिए, गोल ठोक्न, नभन्दै हाम्रा केटाहरुले फेरि गोल ठोके।
‘गोललललललल!,’ म चिच्याएँ।
‘ओ दाइ, ठोके हाम्रा केटाहरूले, बबाल भो!,’ खै किन मैले यसपटक छिमेकीलाई खोजेँ र झ्यालबाट बोलाएँ। ‘लौ मज्जा लाग्यो भाइ, कस्सम घरमै गएर पो ठोके त केटाहरूले!’ फनक्क नाचे एक फेर। नाच्दा उनको ठूलो भुँडी टेबलको कुनामा ठोकिएर गिलास भुईँमा झर्यो र ठूलो आवाज आयो, अनि उनी जोडले हाँसे।
उनको भुँडी हल्लिएको देखेर मैले पनि हाँसो रोक्न सकिनँ।
‘दामी छ, लिने हो भाइ?’ गिलास भुईँबाट उठाएर टेबलमा राखे र पानीको बोतलबाट लोकल हाले, अनि मलाई एक जोडी आँखाहरूले पुलुक्क हेरेर सोधे।
म दोधारमा परेँ।
‘आज खुशीको दिन, खाउँ न सँगै के हुन्छ र?’ उनले जोड गरे। म टिभी तिर हेर्दै खित्त हाँसेँ। हाम्रा केटाहरु बडो होसियार र कुशलताका साथ बल घुमाउँदै थिए।
‘लौ लिनुहोस् भाइ!,’ उनले शिशाको गिलासमा आधा लोकल हालेर मेरो झ्यालसम्म हात बढाए। मैले चुपचाप उक्त गिलास समातेँ।
‘भाइ म यहाँ बसेको पाँच वर्ष भो। तपाईँलाई त कहिले काहीँ मात्र देख्छु। अनि फेरि लामो समय देख्दिनँ। के गर्नुहुन्छ?,’ गिलासको लोकल सिनित्त पारे र मुख बिगारे। मैले हल्का चुस्की लगाउँदै भने, ‘म नेपाल बाहिर बस्छु प्राय!’
उनले कुरा बुझेजस्तो गरी टाउको हल्लाए, केही बोलेनन्। उनको अनुहार अझ सहज अवस्थामा फर्केको थिएन। ‘अनि दाइको नाम?’ मैले पनि प्रश्न तेर्स्याएँ।
‘वृज कुमार यादव, घर रूपनी सप्तरी। अनि तपार्इँको?’
‘म सुनिल,’ मैले आफ्नो परिचय दिएँ।
फेरि हाम्रा केटाहरूले कडा प्रहार गरे, चिच्याएँ- गोललललललल!!!
‘हान्यो र सुनिल भाइ?’ तालु पुछ्दै वृज कुमारले सोधे।
‘झण्डै गोल गरेको दाइ!,’ टिभीमै अड्किएँ र थपेँ, ‘खेल सकिन लागेको छ, विपक्षी खेलाडीहरू भएभरको शक्तिले खेल्दै छन् दाइ!’ यति भन्दै गर्दा म टिभीमै केन्द्रीत थिएँ।
उनी झ्याल छेउमा अझै उभिएका रहेछन्। मलाई अप्ठयारो लागेर टिभीबाट आँखा हटाएर उनलाई हेरेँ।
मलाई हेर्दै वृज दाइ बोले, ‘हार्नु हुँदैन हामीले जसरि पनि जित्नु छ, हामीले धेरै कुरा पहिल्यै हारिसकेका छौं। हामीले आउने सन्ततिको लागि पनि जित्नुछ, हामी मरेर पनि!!’ अनि उनले गिलास हेरे, पानीको बोटल नियाले। तर सबै रित्तै पाए।
‘धत् सकिएछ!,’ वृज दाइ एक्लै बोले।
यता रेफ्रीले सिठ्ठी फुके, हाम्रा केटाहरु राष्ट्रिय झण्डा बोकेर मैदानभरि कुद्न थाले। म उफ्रिएँ, हल्ला गरेँ, सिठ्ठी फुकेँ ‘जित्यो’ भन्दै कराएँ।
मेरो छरछिमेक , टोल सबै तिर हो–हल्ला भएको सुने । साथी भाइहरुले मेरो मोबाईल नै फुट्ने गरि घन्टी बजाए ।
‘कस्सम मजा आयो। जिते केटाहरूले। हाम्रा केटाहरूले छिमेकीको घरमै गएर ठोके। अब के–के रोक्ने हो फेरि!,’ वृज दाइ कराए, अनि रित्तो गिलास टेबलमा ठोके।
हामी दुबै मज्जाले हाँस्यौं।
‘दाई एकछिन ल!,’ बसेको ठाउँबाट उठेँ। मेरो सङ्गग्रहबाट ब्ल्याक लेभल झिकेर पुनः झ्याल नजिक गएँ। टिभीमा दोस्रो हुनेलाई फूलमाला लगाईदिएर पदक प्रदान गरिँदै थियो। हाम्रा केटाहरू अझै रमाइरहेको देखेँ। झ्यालबाट मेरो छिमेकीलाई नियाँलेँ । उनी यता उति केही खोजिरिहेका झैँ लाग्यो।
‘ओ वृज दाइ!’ मैले बोलाएँ।
‘के गर्दै हो?’ फेरि प्रश्न गरेँ।
‘लोकल थियो, कस्सम खोजेको बेला त के पो पाइन्छ र? आज यत्रो खुशीको दिन। भाइले भनेको होइन २३ वर्षपछि आएको खुशी, तर खुशी मनाउने केही छैन!,’ ठस ठस कन्दै बोले। उनको ठूलो भुडी छिटोछिटो तलमाथि भइरहेको थियो।
‘आधा रातमा किन्न पनि कहाँ जाने?’, एक्लै फतफताए।
‘अब खाना खाने होला? तिउन त हेर्दै मिठो छ!,’ मैले जिस्काएँ।
‘माछा मकाएको छु, खाने हो भाइ? उनले प्रष्ट बनाउँदै भने।
उनले बडो मायाले खाना खान आग्रह गरे। मैले पनि विनम्र भएर खाना खाईसकेको जानकारी गराएँ। फेरि उनले माछा चाख्न आग्रह गरे। मैले कति भन्दा पनि उनी मानेनन्। उनले माछाको दुई टुक्रा प्लेटमा हालेर झ्यालबाट हात बढाए। मैले नसमाती हुँदै भएन।
‘खै ग्लास दिनुस त तपाईँको!,’ आग्रह गर्ने पालो मेरो थियो।
‘किन र भाइ?,’ उनले मलाई शङ्कालु नजरले हेरे।
‘तपाईको सकियो, अब मेरो खोल्ने नि!’ मेरो हातमा ब्ल्याक लेभल देखेर उनी कम्ता खुशी भएनन्।
‘साँच्चै, पिउने हो र भाइ?,’ उनले सङ्ककोच माने।
‘तपाईको मैले सबै खान हुने मेरो चाहीँ खान नहुने हो र वृज दाइ?,’ उनलाई सहज बनाउन मैले प्रश्न राखेँ।
मुसुक्क हाँस्दै, ‘त्यस्तो होइन, भाइ’ भन्दै ग्लास बढाए।
खै किन? उनले अप्ठायारो मानेझैँ देखियो। मैले उनको हात च्याप्प समातेर भनेँ, ‘दाइ तपाईँले एक क्षण पनि नसोची मलाई आफ्नो सबै बाँडनु भो, मेरो स्वीकार्न किन अप्ठेरो मान्नुहुन्छ?’
‘भाइ मेरो लोकल र सस्तो, तपाईँको विदेशी र महङ्गो!,’ उनले अलिक असजिलो अनुभव गर्दै वोले। अनि भुँडी हल्लाउँदै खित्खित हाँसे।
टिभीमा राष्ट्रिय गान बज्यो। मेरो शरीरमा बिना कारण काँडा उम्रियो। हातको गिलास कता राखूँ जस्तो भो। मैले टिभीको आवाज ठूलो पारेँ।
राष्ट्रिगान सुनेर उभिरहेको वृज दाइ हातको गिलास टेबलमा राखेर अझ सिधा उभिनुभो। केही क्षणपछि बोल्नुभो, ‘होइन भाइ यो राष्ट्रियगान बज्दा खै किन हो मन सिरिङ्ग हुन्छ, बसेको छु भने पनि उठ्न मन लाग्छ, हिँडेको छु भने ठिङ्ग उभिन मन लाग्छ!,’ अनि चुपचाप हुनुभो।
म हाँसे मात्र, उस्तै मनोदसा मेरो पनि थियो, म के बताउँन सक्थेँ र? तेईस वर्षपछि राष्ट्रले जित्दै थियो, धेरै पटक, धरै कुराहरूमा हारेर।
‘कस्सम मज्जाले ठोक्यो!,’ राष्ट्रगान सकेर पुन: वृज दाइले गिलास एक स्वासमा रित्ताए।
देशको जितले हामीलाई आफैंबाट माथि उठाएको थियो। हामी एक अर्कामा विभाजित नभई राष्ट्रको एकमुष्ट अभिव्यक्तिमा बाँधिदै थियौं। हामी आफैंलाई भुलेर आफ्नो राष्ट्र सम्झिरहेका थियौं।
हामी दुवै जना केही बेरको लागि चुपचाप बस्यौं। सायद नाकाबन्दीको त्यो पीडा बल्झेको थियो हामी भित्र। भूकम्पले क्षतविक्षत भएको उक्त समय नाकाबन्दीका कारण दैनिक जीवनमा परेको प्रभावले सम्पूण नेपाली जनता पीडा र त्रासमा बाँच्न बाध्य थिए। अक्सिजनको सिलिन्डर र औषधि अभावले स्वास्थ्य क्षेत्र तहसनहस थिए । इन्धन र ग्यासको अभावमा सडकभरि गाडी र खाना पकाउने ग्याँसका सिलिन्डर देखिन्थ्यो। संविधान जारि भएको कारण देशमा उत्पन्न असहमति र विरोधलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय कानुनको ठाडो उलङ्घन गर्दै छिमेकी राष्ट्रले नाकाबन्दी गरेको थियो।
नाकाबन्दी २ महिना भएको थियो। उक्त नाकाबन्दी हरेक नेपालीले मनमा एक नमिठो सम्झनाको रूपमा राखेका छन्। हाम्रा खेलाडीलाई उक्त कुराले समेत हार्न नहुने गहिरो चेतना जगाएको हुनुपर्छ।
टोलाएको मेरो छिमेकी पुन बोले, ‘कसम बडो मज्जा भो भाइ। बरू अझ दुःख देओस्, हामी अझ एक हुने रहेछौं!’ ब्ल्याक लेभल रित्तिदै गर्दा वृज दाइ, भन्दै हुनुहुन्थ्यो।
मलाई बडो खुशी लाग्यो र जोडले हाँसेँ अनि उनकै वाक्य बोले ,‘बरू अझ दुःख देओस् हामी एक हुनेरहेछौं!’ अरे वाह! वृज दाइ, मेरो सलाम छ।
उनी ठूलो भुडी छाम्दै हाँसेर बोले, ‘होईन त भाइ?’
मैले स्वीकृतिमा टाउको हल्लाएँ।
रात छिप्पिँदै थियो। मेरो आँखाले पर्खालमा टाँसिएको साप्ताहिक सुन्दरीको तस्वीरलाई टाढैबाट स्पर्श गर्यो। जिस्काउने पारामा सोधेँ ‘उनी चाहीँ को नि?’
‘मेरो एक्लोपनको साथी, तपाईँको भाउजु के!’ वृज दाइ मुसुक्क हाँसे। अनि केही लजाएर तालुमा छाम्दै जवाफ फर्काए।
हामी दुवै उत्ताउलो भएर सँगै हाँस्यौँ।
मध्य रातमा कतै पर जितको होहल्ला मच्चिदै थियो। मैले वृज दाइसँग बिदा लिएँ। यता म झ्याल बन्द गर्दै गर्दा, उता तेइस वर्षपछि हाम्रा केटाहरूले नयाँ सम्भावनाको झ्याल खोल्दै थिए। सोचेँ, ‘लामो समयबाट निदाउन नसकेको मेरो राष्ट्र आज खुशी र गर्वका साथ निदाउने छ।’
म पनि गर्वीलो अनुभूतिका साथ निदाउन तयार थिएँ।