संसारकै एक मात्र महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउसमै कोरोना भाइरस आक्रमणको ह्याट्रिक पूरा भएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पका एक कर्मचारीमा कोरोना पोजेटिव देखिएको छ भने उपराष्ट्रपति माइक पेन्सका दुई कर्मचारी कोरोना भाइरस आक्रमणको निशानामा परेका छन्।
यसै साता राष्ट्रपति ट्रम्पका एक कर्मचारीमाथि कोरोना आक्रमण भयो। ती कर्मचारी अमेरिकी सैनिक सेवाका एक भ्यालेट थिए। राष्ट्रपति अमेरिकी सेनाका सुप्रिम कमाण्डर भएकाले उनका लागि सबैखाले घरेलु सेवा सैनिकले उपलव्ध गराउँछन्। उनको ओछ्यानदेखि भान्छासम्म, गाडीदेखि हवाइजहाजसम्म सैनिक भ्यालेटको उपस्थिति हुन्छ।
भ्यालेटमाथि नै कोरोना आक्रमण भएपछि राष्ट्रपतिकै कोरोना परीक्षण हरेक दिन थालेको बताइएको छ। राष्ट्रपतिले नै सार्वजनिक ठाउँमा फेस मास्क लगाउने र सोसल डिस्टान्सिङ पालना गर्ने निर्देशिका जारी गरेका छन्। तर, उनी न मास्क लगाउँछन् न सोसल डिस्टान्सिङ नै पालना गर्छन्। उनको यो व्यवहारमाथि मिडियाले पटकपटक प्रश्न उठाउँदै आएका छन्। तर, उनी सिधै भन्छन् , 'म राष्ट्रपति हुँ, यो निर्देशिका मेरो लागि हैन।'
आखिर किन यसो गर्छन् त राष्ट्रपति ट्रम्प ? यसका अरू पनि कारण होलान् तर मूलकारण मास्क लगाउँदा वा सोसल डिस्टान्सिङ कायम गर्दा आफू डरपोक जस्तो देखिन सक्ने उनलाई लाग्छ। त्यस्तो छवि उनका मतदातालाई मन पर्दैन। त्यसैले उनी चुनावलाई ध्यानमा राखेर त्यसो गर्न चाहदैनन्।
राष्ट्रपति ट्रम्पको मात्र कुरा भएन, उपराष्ट्रपति पेन्सका कर्मचारीको हालत पनि उस्तै छ। उनका त दुई कर्मचारीमाथि आक्रमण भैसक्यो। पछिल्लो पटक विहीबार उनका एक कर्मचारीमा कोरोना पोजिटिव देखियो। यसअघि मार्च महिनामा पनि उनका एक कर्मचारीमाथि कोरोना भाइरसले आक्रमण गरेको थियो।
उपराष्ट्रपति पेन्स त अझ कोरोना भाइरस टास्क फोर्सका संयोजक नै हुन्। उनकै दुई कर्मचारी कोरोना भाइरस संक्रमित देखिनुको सन्देश समाजमा सकारात्मक जान सक्दैन। सार्वजनिक ठाउँमा जाँदा फेस मास्क नलगाउने उनको केही समयअघि अस्पताल भित्र पनि मास्क नलगाएको तस्विर बाहिरिएको थियो।
राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सलाई रोल मोडल मान्ने लाखौं अमेरिकी छन्। आफ्ना रोलमोडलले कोरोनाविरूद्ध जारी गरेको निर्देशिका आफैं उलंघन गरेपछि त्यसलाई पछ्याउँदै उनीहरू पनि सडकमा निस्केका छन्। यसले एक किसिमको कानुन हातमा लिने प्रवृति मात्र बढेको छैन, मास्क लगाउने र सोसल डिस्टान्सिङ मान्ने ट्रम्प विरोधीका रूपमा चित्रित गरिने र उनीहरूमाथि आक्रमण हुने सम्भावना पनि बढेको छ।
ह्वाइस हाउसमा तीन तीनवटा कोरोना केस देखिनु सामान्य कुरा हैन । यसले अमेरिकी समाजमा केही नकारात्मक सन्देश प्रवाह गरेको छ। पहिलो, अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति नै कोरोना कहरलाई गम्भीरताका साथ लिइरहेका छैनन्, ७८ हजार अमेरिकीको ज्यान लिइसकेको यस महामारीलाई उनीहरू खेलाची सम्झिरहेका छन्। दोस्रो, ह्वाइट हाउसमाथि त कोरोनाले आक्रमण गर्न सक्छ भने अरू कहाँ सुरक्षित होला ? तेस्रो, ह्वाइट हाउसमा भेटिएका कोरोना संक्रमितसँग दिनहुँ उठबस गर्ने राष्ट्रपति र उपराष्ट्रपतिले सोसल डिस्टान्सिङ र मास्क लगाउनुपर्ने निर्देशिका उलंघन गर्दै दिनहुँ थुप्रै अमेरिकीसँग उठबस गरिरहेका हुन्छन्। यसबाट अन्यथा पनि हुन् सक्छ। यी तीनवटै सन्देशहरू अमेरिका र अमेरिकी जनताका लागि सुखद् हैनन्।
ह्वाइट हाउसमा कोरोना भाइरस पस्नुमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सका क्रियाकलाप केही हदसम्म जिम्मेवार छन्। उनीहरू कोरोनालाई आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावसँग जोड घटाउ गरिरहेका छन्। के गरेर वा कसरी यो मुद्दाको पासा आफ्नो पक्षमा फर्काउने उनीहरूको सोच नै त्यतैतिर केन्द्रित भएको जस्तो देखिन्छ। उनीहरू कोरोना महामारीलाई साझा दु:खका रूपमा चित्रण गरेर अमेरिकालाई जोड्नेभन्दा यो आप्रवासीलाई मात्र हुने रोग हो भन्ने खालको संकथन निर्माण गरेर अमेरिकी जनतालाई विभाजन गरिरहेका छन्।
राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सलाई रोल मोडल मान्ने लाखौं अमेरिकी छन्। आफ्ना रोलमोडलले कोरोनाविरूद्ध जारी गरेको निर्देशिका आफैं उलंघन गरेपछि त्यसलाई पछ्याउँदै उनीहरू पनि सडकमा निस्केका छन्। यसले एक किसिमको कानुन हातमा लिने प्रवृति मात्र बढेको छैन, मास्क लगाउने र सोसल डिस्टान्सिङ मान्ने ट्रम्प विरोधीका रूपमा चित्रित गरिने र उनीहरूमाथि आक्रमण हुने सम्भावना पनि बढेको छ।
हुँदाहुँदा अमेरिकामा फेस मास्क लगाउने र सोसल डिस्टान्सिङ मान्ने मानिसलाई डरपोक, अमेरिका फस्ट विरोधी, आप्रवासी, कोरोना भाइरसबाहक आदिका रूपमा चित्रण गर्न थालिएको छ। यसले अमेरिकी समाजलाई एक किसिमले ठाडो चिरामा विभाजन गरेको छ। फेस मास्क लगाउने र सोसल डिस्टान्सिङ मान्ने एक कित्तामा छन् भने त्यसो नगर्ने अर्को कित्तामा। पहिलो कित्ताका मानिस अमेरिका विरोधी हुन् भने दोस्रो कित्ताका खास अमेरिकी। यस्तो दुर्भाग्यपूर्ण विभाजनमा अमेरिका अघि बढिरहेको छ र यस्तो विभाजन ल्याउन राष्ट्रपति र उपराष्ट्रपतिकै गतिविधि जिम्मेवार छन्।